मन्त्री ज्ञवाली भन्छन्- ‘बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन’

रिपोर्ट नेपाल | 2018 Sep 05 | 03:38 pm 2236

काठमाडौँ, भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट गरे । यही भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले भने, ुबिमस्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।ु

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पारिसकेका छन् ।

समितिका सदस्य भीमबहादुर रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिमस्टेकको अवधारणा प्रतिकूल हुने बताए ।

समितिका सदस्य डा नारायण खड्काले बिमस्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत छलफल गर्नुपर्ने भएकाले अर्को बैठकको माग गरे ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले विमस्टेकका सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिए ।

बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.