पाेखरा, फागुन १७ : हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पोखराका नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ।

उनलाई बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाएका छन् । श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । गृह जिल्ला कास्कीले धेरै आशा र भरोशा गरेका युवा नेता गुमाउँदा पोखरेली स्तब्ध छन्।

देशकै निम्ति अझै धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता अधिकारीको अकल्पनीय निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको छ। कास्कीमा आफ्ना प्यारा युवा नेतालाई श्रद्धाञ्जली दिन मानव सागर उत्रेको छ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।
