मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

रिपोर्ट नेपाल | 2020 Oct 16 | 08:25 am 1819

काठमाडौं, असाेज ३०ः मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसअघि पनि संघीयमा रहेका कोइरालालाई पुन संघीय मामिला मन्त्रालयमा नै ल्याइएको छ ।

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यस्तै, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा र सो आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.