मनसुनले मात्र गएको होइन बाढीपहिरो

| 2021 Jun 27 | 07:44 am 1893

काठमाडौँ, असार १३ः असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो । हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डुबायो । माथिल्लो भेग हेलम्बुदेखि ओइरिएको बाढीपहिरोका कारण अझै २० जना बेपत्ता छन् । चार जनाको मात्र मृत्यु पुष्टि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् । भूगर्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् ।

पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउँछन् । उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।

मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनले गरे । उनले भने, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”

बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न गएका थिए । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सुनाए । उनका अनुसार एक/डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् ।

नदीले बनाएका टारमा पछि बस्ती र बजार बनेकाले बाढीको चपेटामा पर्न गएको बाँस्कोटा तर्क गर्छन् । उनका अनुसार नदीको किनार मानव सभ्यताको सूचक पनि हो । त्यहाँ जीवनको सम्भावना अधिक हुन्छ । त्यसैले मानव बस्ती र भौतिक संरचना बन्छ ।

तीन वर्षअघि २०७५ सालमा सरकारले निर्माण गरेको विपत् जोखिम न्यूनीकरण तथा राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–३० का अनुसार नेपालको उत्तरमा विशाल हिमालय पर्वत शृङ्खलादेखि दक्षिणमा तराईसम्म कुल १७० मिटरको दूरी रहेको छ । यति सानो दूरीभित्रको विविधता अधिक छ र त्यसैका कारण एकै समयमा फरक–फरक खालका प्राकृतिक विपत्तिको सामना नेपालले गर्नु परिरहेको छ ।

कार्ययोजनाअनुसार नेपालमा हरेक वर्ष पाँच सयभन्दा बढी विभिन्न खालका विपत्का घटना हुने गरेका छन् । सन् १९७१ देखि २०१५ को अवधिमा नेपालमा ४० हजारभन्दा बढी मानिसको ज्यान विपत्का कारण गएको छ । यो भनेको हरेक दिन दुई जनाभन्दा बढीको ज्यान विपत्कै कारण जाने औसत सङ्ख्या हो । त्यस अवधिमा ७५ हजारभन्दा बढी मानिस घाइते भए भने ३० लाख मानिस विपत्बाट प्रभावित बनेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.