मकै बालीमा खडेरी र फौजी किरोको प्रकोपले क्षति

| 2023 May 27 | 02:30 pm 1153

म्याग्दी,जेठ १३ः समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् ।

विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए ।

जिल्लाको लेकदेखि बेँसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ ।

‘म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किरोको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छ’, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने । उनले खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिए ।

जिल्लामा मकै खेती कूल ६० प्रतिशत खेतीयोग्य भू–भागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ । जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.