‘भ्वाइस अफ नेपाल’ सिजन दुईमा दुई कोच परिवर्तन

रिपोर्ट नेपाल | 2019 Jun 17 | 06:22 pm 1970

काठमाडौं, असार २ : ‘भ्वाइस अफ नेपाल सिजन दुईमा दुई कोच परिवर्तन हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिजन -२ को अडिसन र कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।

द भ्वाइस अफ नेपाल सिजन–२’ को ब्लाइण्ड अडिसन सुटिङ आगामी बुधबारबाट शुरु हुदैछ । करिब २३ हजार प्रतिभाहरूले डिजिटल अडिसनमा सहभागिता भएकोमा विभिन्न छनोट पार गरी १ सय भन्दा बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले बताए । भ्वाइस अफ नेपाल सिजन–२ को प्रसारण साउन पहिलो साताबाट हिमालयन टेलिभिजनमा हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुनेछ ।

‘युवा पुस्ताका चर्चित अनुहारहरूलाई हामीले कोचका रुपमा भित्र्याएका छौं,’ कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले भने, ‘नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरू जन्माउन उहाँहरूको योगदान महत्वपूर्ण हुनेछ ।’ यो विश्वको नम्बर एक गायन रियालिटी सो हो । ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजन कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो । पहिलो सिजनमा सिडी विजय अधिकारीले उपाधि चुमेका थिए ।

‘द भ्वाइस अफ नेपाल सिजन-२’को टाइटल स्पोन्सर युनाइटेड सिमेन्टले गर्ने भएको छ, भने एनआइसी एसिया बैंक र आईएनजी ग्रुप सहप्रायोजक रहेका छन् । त्यस्तै केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजकका रुपमा अनुबन्ध भएका छन् । प्रायोजनसम्बन्धी सम्झौंतामा हिमालयन टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल र प्रायोजकहरूबीच सोमबारनै हस्ताक्षर भएको छ ।

सिजन १ मा भएका दुईजना कोच परिवर्तन गरिएको छ । हिमालयन टेलिभिजनबाट प्रसारण हुने सिजन-२ का लागि अभया सुब्बाको स्थानमा आस्था राउत र सनुप पौडेलको स्थानमा राजु लामा राखिएका छन् । यसअघिका कोचहरू दीप श्रेष्ठ र प्रमोद खरेल भने यथावत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.