भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुस्: प्रधानमन्त्री देउवा

रिपोर्ट नेपाल | 2022 Dec 12 | 07:54 am 1753

काठमाडौं, मंसिर २६ः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहलाई भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहबाटै भ्रष्टाचार शून्य बनाउन लागि पर्नुपर्ने बताए ।

स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउँदै उनले स्थानीय तहको क्षमता विकास भए मात्रै नागरिकले सहज र सरल सेवा पाउने बताए ।

उनले भने– ‘स्थानीय तह भनेको स्थानीय सरकार नै हो, त्यसकारण स्थानीय सरकार आफैंमा व्यवस्थित र क्षमतावान हुनुपर्छ ।

अनि मात्रै जनताले सरल र सहज रूपमा सेवा पाउनेछन् ।’ उनले स्थानीय तहको क्षमता विकासका लागि गाउँपालिका राष्ट्रिय महासंघलाई सहजीकरण गर्नुपर्ने र हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले सहज रूपमा शिक्षा, स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तक्रिया हुन आवश्यक रहेको बताए ।

जनतालाई विना झन्जट र बिना ढिलासुस्ती सेवा दिने कुरामा स्थानीय तहहरू कहीँ चुक्नु नहुने भन्दै उनले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अबलम्बन गर्न सबै स्थानीय सरकारलाई आग्रह पनि गरे । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.