भ्रष्टाचारको सूचना नदिने व्यक्ति पनि भ्रष्टाचारी नै हो : प्रमुख आयुक्त

| 2018 Oct 04 | 01:44 pm 3748

नवीन घिमिरे हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त भएका छन् । ३५ वर्षे जागिरे जीवनमा अनेक आरोह–अवरोहसँग जुध्दै नेपाल सरकारको सचिव पदबाट अवकास प्राप्त घिमिरेको क्षमताको मूल्याङ्कन गर्दै यसअघि उनलाई सरकारले अख्तियारको आयुक्तमा नियुक्ति गरेको थियो । सरल स्वभाव निडर प्रशासन र सबैका कुरा सुनेर मात्रै आफ्नो निर्णय दिने क्षमता भएका घिमिरेसँग अबका दिनमा मौलाउँदै गएको भ्रष्ट्राचारलाई नियन्त्रण गर्न के कस्ता रणनीति र सोच छ भन्ने विषयमा कार्यकारी सम्पादक महेन्द्र पाण्डेयले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

० दुईवर्षे कार्यकालका लागि अख्तियार जस्तो गरिमामय संस्थाको कमाण्डर बन्ने अवसर पाउनुभएको छ, कस्तो महसुस हुँदै छ ?
– मैले सरकारी सेवा गर्दा जसरी देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेँ त्यसैको मूल्याङ्कन गरेर सरकारले मलाई संवैधानिक आयोगमा नियुक्त गरेको होला । ३५ वर्षे निजामती सेवा र चारवर्षे संवैधानिक सेवामा मेरो जुन इमान्दारिता भयो त्यसैको मूल्याङ्कन गरेर सरकारले आफूलाई थप जिम्मेवारी दिएकोले जति हर्षविभोर भएको छु, त्योभन्दा बढी कर्तव्य परायणतामा निर्भिकताका साथ अघि बढ्ने प्रण गरेको छु ।

० प्रमुख आयुक्तका लागि धेरै मान्छे इच्छुक थिए होलान्, तपाईंलाई नै नियुक्त गर्नुको कारणचाहिँ के होला ?
– इच्छा जाहेर गर्नु सबै साथीहरूको अधिकार हो । जाहेर गरेका साथीहरू पनि अत्यन्तै सक्षम पनि हुनुहुन्थ्यो होला । सरकारले मेरो इमान्दारिता र कर्तव्यनिष्ठता देखेर मलाई नियुक्त गरेको होला भन्ने मैले महसुस गरेको छु ।

० चार वर्ष आयुक्त चलाउनुभयो अबको तपाईंको ठोस योजना के छ ?
– अख्तियार राज्यको महत्वपूर्ण अंग र जनताको आशा र भरोसाको पवित्र संस्था हो । हामी जनचाहनाअनुरुप भ्रष्ट्राचारको जालोलाई नष्ट गर्ने अभियानमा लाग्ने प्रण गरेका छौँ । यतिखेर मुलुकमा भ्रष्ट्राचार संस्थागत हुँदै गएको छ । त्यसलाई रोक्नका लागि आयोग जति प्रतिबद्ध छ त्यस्तै गरी राज्यका सबै अङ्गले अख्तियारलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

० ठ्याक्कै भन्नुपर्दा कोबाट सहयोगको बढी आशा गर्नुभएको छ ?
– सबै तह र तप्काका निकायले पूर्ण रुपमा सहयोग गर्नुपर्छ । विशेष गरी हामीले नागरिक समाज, सञ्चारजगत र अन्य सरोकारवालाको सहयोगको अपेक्षा गरेका छौँ ।

० अख्तियारले समाएका कतिपय मान्छेहरू अदालतबाट छुटेका छन् यस्तो हुनुको पछाडि आयोगको कमजोर प्रमाण भएर हो कि के हो ?
– विगतलाई हामीले पाठका रुपमा लिएर वर्तमानमा कसरी भ्रष्ट्राचारमुक्त समाज र सुशासन प्रशासन बनाउने भन्ने दिशातर्फ हामी अग्रसर भएका छौँ । विगतमा गोपनियतादेखि तटस्थ र प्रतिबद्धतामा द्वन्द्व थियो अब त्यसलाई चिरफार गर्दै आयोग आफ्नो कर्तव्य पथमा अगाडि बढ्छ ।

० अख्तियार झिनामसिना मुद्दामा लागेर ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेको भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ?
– भ्रष्ट्राचार सानो र ठूलो भन्ने हुँदैन । भ्रष्ट्राचारी सबै सजायको भागिदार बन्नुपर्छ भन्ने मेरो मान्यता हो । हामीले कसैको मुहार हेर्ने होइन हामी त भ्रष्ट्राचार मुक्त नेपाल बनाएर देशको मुहार सुन्दर बनाउँनु पर्छ भन्ने अभियानमा लागेका छौं । मैले आयोगको गरिमालाई कसरी जन स्तरसम्म विश्वासनीय बनाउने भन्नेमै ध्यान केन्द्रीत गरेको छु ।

० छानविन प्रक्रिया कसरी अगाडि बढाउनुहुन्छ ?
– सबै कुरा हामीले संचारजगतलाई बताउनु हुँदैन । तपाई बुझ्नुहोस् आयोग विगतमा झै फितलो अनुसन्धानमा फस्दैन । कसैको विषयमा बुझ्न पर्यो भने अत्यन्तै गोप्यताकासाथ अनुसन्धान गरेर मात्र कारबाही अगाडी बढ्छ ।

० कतिपय ठूला फाइल आयोगले थन्काएको भनेर आवाज पनि उठ्ने गरेको छ तपाईं के भन्नुहुन्छ ?
– तपाईंले गरेको प्रश्नमा सत्यता नभएको चाहिँ होइन । तर, सत्यता हो भन्दैमा फाइल बन्दै हुन्छन् भन्ने होइन, आवश्यक परे खुल्छन् । यथेष्ट प्रमाण खोजिनीति हुँदैछ, त्यसपछि तपाईंले थाहा पाउनुहुनेछ फाइल के हुँदैछ भनेर ।

० अन्त्यमा थप केही ?
– भ्रष्ट्राचार गर्ने व्यक्ति जति सजायको भागीदार हुन्छ, भ्रष्टाचारबारे थाहा पाएर पनि सूचना नदिने मान्छे पनि देशको लागि भ्रष्ट्राचारी नै ठहरिन्छ । मेरो नागरिक समाज, सञ्चारजगत सबैसँग मेरो आग्रह छ– तपाईं सूचना मात्रै दिनुस् अनि बल्ल हेर्नुस् आयोगले के गर्छ भनेर ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.