पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो गाँसमै ढुंगा

भ्रष्टाचार लुकाउन सार्वजनिक विदा

रिपोर्ट नेपाल | 2023 Jan 16 | 05:24 pm 4081

  • महेन्द्र पाण्डेय

आइतबार बिहान काठमाडौंबाट उडेको यति एयरबेजको विमान नवनिर्वित पोखरा अन्तर्राष्ट्रिय विमान स्थल नजिकै दुर्घटनामा परेको छ । प्राविधिकहरुका अनुसार पोखराको पुरानो विमान स्थलको तुलनामा नयाँ विमानस्थल उडान र अवतरणका लागि निकै सहज छ । नयाँ विमान स्थलको धावनमार्ग पुरानो विमानस्थलको भन्दा दोब्बर लामो तथा फराकिलो छ । उडान र अवतरणका लागि सबै भन्दा महत्वपूर्ण मानिने हवाई क्षेत्र पनि पुरानो विमानस्थल भन्दा नयाँ विमान स्थलको दोब्बर छ । तर माघ १ गते आइतबार यस्तो दुर्भाग्य आइ लाग्यो की अत्यन्त अनुकुल मौसम हुँदा हुँदै पनि नयाँ विमानस्थलमा अबतरण गर्नै लाग्दा यति एयर लाइन्सको विमान दुर्घनामा पर्यो । बिमानमा सवार ७२ जनाको प्राण आहुती भयो । यति बेला आम नेपालीको मुखमा झुण्डिएको एउटै प्रश्न हो, भौगोलिक सहजता र अनुकूल मौसम हुँदाहुँदै पनि कसरी भयो दुर्घटना ? विमान थोत्रो पो थियो की ? मुख्य विमान चालक थाकेका पो थिए की ? सिकारु सहचालकले पो विमान चलाएकी थिइन की ? कसैले विष्फोटक पदार्थको प्रयोग पो गरिदियो की ? विमान उढ्नु अघि राम्रो सँग प्राविधिक चेक जाँच गरिएको पो थिएन की ? लगायतका थुप्रै आशंका सर्व साधारणले गरेका छन् ।

विमान उडान सम्वन्धी प्राविधिक तथा जानकारहरुले आ–आफ्नो ढंगले व्याख्या गरेका छन् । तर बास्तविकता के हो ? भन्ने प्रश्नको उत्तर थाहा पाउन अब कम्तिमा पनि ४५ दिन पर्खनु पर्ने छ । दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषदको आपत कालिन बैठकले पर्यटन मन्त्रालयका पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानविन आयोग गठन गरेको छ । छानविन आयोगलाई ४५ दिनको समय दिइएको छ । तर विगतमा पनि यस्ता दुर्घटना धेरै भएका छन् । हरेक दुर्घटनाको छानविन आयोग गठन भएका छन् । तर छानविन आयोगले यर्थाथ प्रतिवेदन दिने नगरेको गुनासो आउने गरेको छ । साथै छानविन आयोगको प्रतिवेदन गोप्य राख्ने गरिएको छ । यस पटक पनि त्यही हुने आशंका धेरैको छ । के छानविन आयोग कर्मकाण्डका लागि मात्रै गठन गरिएको हो त ? किन र कसरी दबाव पर्ने गर्छ छानविन समितिलाई ? लगायतका प्रश्न पनि उठेका छन् । विमान निर्माण कम्पनी र विमान संचालन कम्पनीलाई दोष मुक्त गराउनका लागि मात्रै यस्ता छानविन समिति गठन गर्ने गरिएको विगतका अनुभवहरुले पनि देखाउँछ ।

नेपालमा दिनहुँ जसो सडक दुर्घटनामा पनि कयौंको ज्यान गइरहेको छ । सडक दुर्घटनालाई त्यति ठूलो कुरा मानिन्न । तर विमान दुर्घटनालाई चाँही ज्यादै ठूलो कुरा मानिन्छ । किनकी यातायातका साधनमध्ये सबै भन्दा सुरक्षित साधन विमानलाई मानिन्छ । सरसरर्ती हेर्दा सडकमा गुड्ने साधनलाई भन्दा आकाशमा उढ्ने साधन सुरक्षित नमानिनु पर्ने हो, तर हवाई जहाजलाई सबै भन्दा सुरक्षित मानिन्छ । हवाई जहाजलाई सुरक्षित मानिनुको मुख्य कारण हो, उडानका क्रममा अवलम्वन गरिने मापदण्ड । पहिलो कुरा त बिमानमा दुई वटा इन्जिन हुन्छन् । एउटा इन्जिनले काम नगरे विकल्पमा अर्को इन्जिन प्रयोग गर्न सकिन्छ । दास्रो कुरा विमानमा कम्तिमा दुई जना चालकको व्यवस्था हुन्छ, एउटा चालकलाई समस्या उत्पन्न भए अर्को चालकले काम गर्न सक्छ । आवश्यक सल्लाह पनि गर्न सक्छन् ।

यसैगरी हरेक विमान उडान गर्नु अघि सम्पूर्ण इन्जिनहरुको चेक जाँच गर्ने छुट्टै प्राविधिक टोली हुन्छ । यो टोलीले अब उडान गर्न ठिक छ भनेर प्रमाणित गरिदिए पछि मात्रै पाइलटहरुले उडान गर्न पाउँछन् । सिटमा बस्नु अघि पाइलटको पनि सामान्य स्वास्थ्य परीक्षण गरिन्छ । एक जना पाइलटले एक दिनमा कति समय उडान गर्न पाउने ? भन्ने मापदण्ड पनि तोकिएको हुन्छ । यसैगरी विमानमा सवार हरेक यात्रुको विवरण लिइन्छ । सुरक्षा शर्तकता उच्च बनाईएको हुन्छ ।
विमान उडाउनका लागि पाइलटहरु बस्ने ठाउँलाई ककपिट भनिन्छ । ककपिटमा चालकदलका सदस्य बाहेक अरुलाई प्रवेश गर्ने अनुमति दिइन्न । साथै बिमान उडेदेखि अवतरण नगरेसम्म चालकदलका सदस्यले दुवै तर्फका बिामनस्थलमा अत्यन्त सहज रुपमा सम्पर्क गर्न सक्ने संचारको व्यवस्था गरिएको हुन्छ । विमान उडेँदेखि अवरतण नगरेसम्म विमान विमानस्थलकै कार्यकक्षमा बसेर निगरानी गर्ने प्राविधिक टोली पनि छुट्टै हुन्छ । यो टोलीले उडान गरिरहेको बिमानको निगरानी राडरको सहायताले गरिरहेको हुन्छ । यो टोली पनि चालकदलका सदस्यहरुको निरन्तर संचार सम्पर्कमा रहेको हुन्छ । हवाई उडानका लागि अपनाईएका यी मापदण्डहरु अचुक रुपमा कार्यन्वन गर्ने हो भने विमान दुर्घटनाको कुनै गुन्जाइस हुँदैन । त्यसैले हवाई यात्रालाई सबै भन्दा सुरक्षित मानिएको हो ।
तर नेपालको सन्दर्भमा हेर्ने हो भने हवाई यात्रा सबै भन्दा असुरक्षित प्रमाणित हुन पुगेको छ । त्यसमा पनि पछिल्लो २५ वर्ष यता यति एयरलाइन्सका विमान दुर्घटनाले सिमा नाघेको छ ।

आइतबार पोखरामा भएको विमान दुर्घटनाको मुख्य कारण लापरवाही नै हो भन्ने कुरामा कहीँ कतै शंका छैन । कसले गर्यो लापरवाही ? कहाँ निर भयो लापरवाही ? भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ । झट्ट हेर्दा विमान उडानका लागि अनुमति दिने प्रावधिक टोलीको पनि लापरबाही हुन सक्छ । उनीहरुले विमानका पाटपपुर्जा राम्रो सँग चेक जाँच नै नगरी उडानको अनुमति दिएका पो थिए की ? भन्ने आशंका गर्ने आधार सबै भन्दा बलियो छ । किनकी पोखरा विमान स्थलमा अवतरण गर्ने बेलामा आकाशमै बिमान ९० डिग्री कोल्टो परिसकेको भिडियो दृश्यहरु भाइरल भइसकेका छन् । यो दृश्य हेर्नेले यान्त्रिक गडवडी नै मुख्य कारण हो की ? भन्ने अनुमान लगाएका छन् । दुर्घटना ग्रस्त विमान १५ वर्ष पुरानो भएको तथ्य फेला परेको छ । यस अघि भारत, थाइल्याण्ड, भुटान लगायत धेरै देशका कम्पनीहरुले हजारौं घण्टा चलाई सकेको यो विमान सात वर्ष अघि यति एयरलाइन्सले खरिद गरेर नेपालमा ल्याएको हो । प्राविधिकहरुका अनुसार विमान कहिल्यै पुरानो हुँदैन, तर पाटपुर्जा भने पुराना हुन्छन् । पुराना भएका पाटपुर्जाहरुलाई म्याद सकिनु भन्दा अगाडि नै परिवर्तन गरिसक्नु पर्ने मापदण्ड बनाइएको हुन्छ । यो मापदण्ड पालना गरेकै कारण अहिले पनि विश्वका कतिपय देशमा १ सय वर्ष पुराना विमान पनि आकाशमा उडिरहेका छन् । १ सय वर्ष पुराना विमानहरु त आकाशमा उडिरहेका छन् भने आइतबार दुर्घटनामा परेको विमान त जम्मा १५ वर्ष पुरानो हो । तर म्याद नाघ्न लागेका पाट पुर्जाहरु नियमित परिक्षण तथा परिवर्तन गरिएको थियो वा थिएन ? भन्ने अनुगमन जरुरी हुन्छ । यो अनुगमन गर्ने व्यवस्था सरकारले मिलाएको हुन्छ । तर यो व्यवस्था कार्यान्वयन भएको थियो की थिएन ? भन्ने प्रश्न सबै भन्दा महत्वपूर्ण हो ।

समग्रमा भन्नु पर्दा विमान उडानका लागि तोकिएका मापदण्ड पालना गराउने मुख्य काम सरकारको हो । संवन्धित कम्पनीले हो यो सबै काम गर्नु पर्ने । तर छिटो नाफा कमाउने लोभमा कतिपय कम्पनीहरुले लापरवाही गर्छन । खर्च जोगाउनका लागि गरिने यस्ता लापरवाहीको निगरानी सरकारले राख्नु पर्छ । यसका लागि नै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको व्यवस्था गरिएको हो । तर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निकम्मा सावित भएको देखिएको छ । आखिर किन निकम्मा सावित भयो त पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयय ?

मन्त्रालय मातहतका कर्मचारीले गर्ने काम कारवाहीको निगरानी राख्ने भनेको मन्त्रीले हो । मन्त्रीले गर्ने काम कारवाहीलाई निगरानीमा राख्ने भनेको प्रधानमन्त्रीले हो । तर प्रधानमन्त्रीको गतिविधिलाई निगरानी राख्ने कसले ? नेपालका सन्दर्भमा प्रधानमन्त्रीको गतिविधिलाई निगरानी राख्ने काम भगवान भरोसामै चल्दै आएको छ । प्रधानमन्त्रीको सिधै संलग्नतामा हुने अपराधपूर्ण गतिविधिले छुट पाउँदै जानु नै नेपालमा विमान दुर्घटना बढ्नुको मुख्य कारण हो । पंचायतकालमा सिधै राज परिवारले शासन सत्ता चलाउने भएकोले त्यतिबेलाका गतिविधि बाहिर आउने अवस्था थिएन । २०४८ साल पछि नेपालको हवाई क्षेत्रमा कहिले धमिजा काण्ड भए, कहिले लाउडा काण्ड भए, कहिले चुज एयर काण्ड भए । यस्ता काण्डै काण्डमा तत्कालिन प्रधानमन्त्रीहरुको संलग्ना रहेको कुरा जग जाहेर छ । प्रधानमन्त्री स्वयं नै भ्रष्टाचारमा संलग्न भएका कारण पर्यटन मन्त्रालय र यस अन्तरगतका कर्मचारीहरुको मनोवल घट्न सम्म घट्यो । उनीहरुले लत्तो छाडे । त्यसैको परिणाम हो विमान दुर्घटनाका सिलसिला ।

आइतबार पोखरामा दुर्घटनामा परेको विमान संचालन गर्ने कम्पनी यति एयरलाइन्समा को को संलग्न छन् ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने धेरै कुरा छर्लङ्ग हुन्छ । यति एयरलाइन्स भनेको यति होलिङ कम्पनीका १३ वटा शाखा मध्ये एक हो । यति होल्डिङ कम्पनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट कम्पनी हो । ओलीको किचन क्याविनेटका धेरै जसो सदस्यहरु यति होलिडङका शेर होल्डर छन् । त्यसैले यति एयरलाइन्सका विमानहरुको उडान अघि गरिने प्राविधिक परीक्षण नाम मात्रैको हुन्छ । विमान उडान प्राविधिक कारणले ठिक छैन भनेर यर्थाथ कुरा उल्लेख गर्न प्राविधिकहरु डराउँछन् । त्यसैले विगत १५ वर्षमा यति एयरलाइन्सका ८ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । यसअघि गत १५ जेठमा पोखराबाट मुस्ताङतर्फ गएको यतीकै भगिनी संस्था तारा एयरको ट्विनअटर विमान थसाङमा दुर्घटना भएको थियो ।

विमान दुर्घटनाले पुर्याएको मानवीय क्षति त अपुरणीय हुँदै हो, सँग सँगै हाम्रो जस्तो निमुखो देशले आर्थिक क्षति पनि त्यतिकै ठूलो ब्यहोरेको छ । नेपालको आकाश प्राकृतिक रुपमै सुरक्षित छैन भन्ने सन्देश फेरी अन्तर्राष्ट्रिय जगतमा पुगेको छ । चाहे संसारको कुनै कुनामा भएको होस्, हवाई जहाज दुर्घटनाको समाचार सबै देशका मिडियाहरुले उत्तिकै प्राथमिकताका साथ प्रवाह गर्ने गर्छन् । अन्य दुर्घटनाका तुलनामा हवाई जहाज दुर्घटना प्रति मानवीय चासो पनि उत्तिकै हुन्छ । हवाई जहाज दुर्घटनाका कारणहरु मुख्यतया चार वटा हुन्छन् । जहाज निकै पुरानो भए पछि उत्पन्न हुने यन्त्रिक गडवढी, मौसमको खरावी, चालकको लापरवाही र सुरक्षाकर्मीको असावधानी ।
तर नेपालमा हुने गरेका हवाई दुर्घटना छानविन समितिहरुले यन्त्रिक गडवढी तथा चालकको लावरवाहीलाई आफ्नो प्रतिवेदनमा त्यति उल्लेख गरेको पाइन्न । विमान निर्माण कम्पनी तथा विमान संचालन कम्पनीको साख जोगाउने नाममा नेपालको आकाश प्राकृतिक रुपमै जोखिमपूर्ण छ भन्ने सन्देश जाने गरी छानविन समितिले प्रतिवेदन दिने गरेकै कारण नेपालको पर्यटन व्यवसायले अपेक्षित गति लिन नसकेको हो ।

हवाई जहाज दुर्घटना नेपालमा मात्रै हुने गरेको छैन । तर नेपाल भन्दा ६६ गुणा ठूलो क्षेत्रफल र डेढ अर्ब जनसंख्या रहेको छिमेकी चीनमा यो दुई दशकको अवधीमा कति वटा विमान दुर्घटना भए ? नेपाल भन्दा २२ गुणा ठूलो क्षेत्रफल र डेढ अर्ब जनसंख्या रहेको भारतमा यो दुई दशकको अवधीमा कति वटा विमान दुर्घटना भए ? भन्ने प्रश्नको उत्तर सँग नेपालका विमान दुर्घटनाहरुलाई तुलना गर्ने हो भने निकै नै कहाली लाग्दो अवस्था छ ।

दुर्घटनाको समाचार आउने वित्तिकै मन्त्रिपरिषदको आपतकालिन बैठक बस्दै गर्दा धेरैले अनुमान गरेका थिए –‘पुराना जहाज नेपाल भित्र्याउने सिलसिलालाई पुनर्विचार गर्ने निर्णय सरकारले गर्नेछ ।’ तर सरकारले यसको सट्टा माघ २ गते सरकारी विदा दिने निर्णय गर्यो । यो विदाले पीडित परिवारको घाउमा के कति राहत पुर्यायो ? भन्ने प्रश्न आफ्नो ठाउँमा होला, तर सरकारी कर्मचारीका निम्ति त दशैं आए जस्तै भयो । शनिबार यसैपनि विदा थियो, आइतवार माघे सक्रान्तिको विदा, सोमबार जहाज दुर्घटनाको विदा । सरकारी कर्मचारलिे लगातार तीन दिन विदा बस्ने अवसर पाए पनि बिहान काम गरेर बिहानैको र दिउसो काम गरेर बेलुकाको छाक टार्न वाध्य नेपालीका लागि त यस्ता विदाले काम खोस्ने मात्रै हो । सरकारी बिदा दिनुको साटो राष्ट्रिय झण्डा तीन दिन झुकाएर र धार्मिक स्थानहरूमा मैनबत्ति बाल्न सबै नागरिकलाई आव्हान गरेको भए उचित हुन्थ्यो । दुर्घटनाबाट मृत्यु हुने परिवारहरूमा पर्न जाने आर्थिक भार र परिवारहरूलाई उचित ब्यवस्थापन नै मृतकहरूका आत्माको लागि सम्मान हो ।

विमान दुर्घटनामा ज्यान गुमाएका सबै आत्माहरु प्रति यो पंतिकार बैकुण्ठको बासको लागि भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकमा रहनुहुने सबै देशी बिदेशी शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना समेत प्रकट गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.