भ्रष्टाचार र कमिशनतन्त्रको विरोध

रिपोर्ट नेपाल | 2019 Jan 02 | 01:37 pm 2456

तेस्रो विश्वका कतिपय मुलुकमा भ्रष्टाचारका कारणले लोकतान्त्रिक व्यवस्था नै संकटमा परेका उदाहरण प्रशस्त देखिएका छन् । कानुनी राज्य कायम हुन नसक्नु, मनपरी वा हचुवा पाराले काम गर्ने मिचाहा प्रवृत्ति बढ्नु, कुनै स्थिति र पद्धति बस्न नसकनु प्रशासन यन्त्र अस्थिर अनुत्तरदायी सहेत रहनु तथा दलहरुभित्रको राजनीतिक र राष्ट्रिय राजनीतिमा सिद्धान्त र निष्ठाभन्दा लेनदेन र जोड घटाउका आधारमा नेतृत्व कब्जा गर्ने होडबाजी चल्नु र सिर्जनशील, कल्पशील र आदर्शवान व्यक्तिहरु कमजोर पार्दै जानु जस्ता प्रवृत्तिहरु तेस्रो विश्वमा राष्ट्र विकास र प्रजातन्त्रको स्थायित्वका बाधक बनेका छन् ।

भ्रष्टाचार र सुशासनको अभावले विकास र उन्नतिको सपनालाई चकनाचुर पारेको मात्र हैन राष्ट्रमा घोर चारित्रिक संकट अव्यवस्थालाई समेत जन्माएको हुन्छ र हिंसालाई उद्दीपन गराएको हुन्छ ।

आज देशमा सर्वत्र फैलिएको निराशा र अनास्थाको कारण राजनीतिक र प्रशासनिक क्षेत्र चुलिदै गएको भ्रष्टाचार, कमिशनतन्त्र, सुविधा भोगी र मुलाहिजावाद नै हो । भ्रष्टाचारले राष्ट्रिय जीवनलाई आक्रान्त पार्दैछ ।

परिमाण स्वरुप विकासका योजना अलपत्र छन् । जतासुकै गुणस्तर दयनीय छ । राज्यका प्रत्येक अंगमा रोग पसेको छ । पैसा बिना जायज काम पनि नहुने जनताले सास्ती खेप्नुपर्ने बिचित्रको स्थिति छ ।

राष्ट्रको नैतिक धरातल खस्किने मात्र होइन राष्ट्रियता नै संकटमा छ । राजनीतिक र हर क्षेत्रको सामाजिक जीवनमा भ्रष्टाचार र कमिसनतन्त्र संक्रामक रोग झै फैलिदैछ ।

उच्च तहदेखि स्थानीय तहसम्म यसैगरी रोग फैलदै जाने हो भने निमुखाले न्याय र विपन्नले आय कसरी पाउँछन् ? समृद्धिको यात्रा कहाँ पुग्ला ? राष्ट्रको अस्मिताको रक्षा कसरी होला? यतिसम्म कि भ्रष्टाचार घुस्दै गएर समाजसेवा पनि ढोग मात्र सावित हुँदैछ ।

राजनीतिमा पैसाको बोलवालाले जनसेवा, सिद्धान्त, निष्ठा, विकास निर्माण, त्याग तपस्या र मुल्यमान्यताको कुनै अर्थ नहुने र तत्काल धरै पैसा जस्ले खर्च गर्न सक्छ गाउँ नगर, प्रदेश संघीय संसद मात्र नभएर पार्टीको चुनाव त्यसैले जित्ने भनेपछि अव कुरो कहाँ पुग्यो ? लोकतन्त्र, जनतन्त्र र गणतन्त्रको हालत के हुने भयो ? अन्ततः राष्ट्रियताकै हालत के भयो ?

वर्तमान नेपालमा संवैधानिक निकाय अख्तियारको दोहोलो काडिएको छ । न्यायपालिकाले सातो लिइएको छ । प्रभावशाली दलका प्रभावकारी नेतालाई अख्तियारले पुर्जी काट्न सक्तैन, अदालतले मुद्दा हराउन सक्तैन रातो झण्डा आढेपछि सबै खत् माफ हुने भएको छ ।

पहिले राजालाई कानुन माथि भन्थे अहिले कानुनमाथि राजनीति र नेतृत्व पुग्यो । लोकतन्त्र निमुखालाई न्याय दिन होइन उनीहरुमाथि शासन गर्ने माध्यम बनेको छ । नेता कुर्सीका लागि तीनतिर, ठूलाठूला कारोबारमा एकैतिर भन्ने गाईगुई चलिरहेको छ ।

ठूलाठूला घोटलाहरु “तै चूप मै चूप” गाउँ–शहरतिर पनि सर्वपक्षीय भक्षण प्रचलित हुँदैछ । अब सुशासन कसरी होला ? त्यसैले जो सच्चा लोकतन्त्रवादी र मानवअधिकारवादी छन् ती सबै एक भएर उभिनु पर्यो लोकतन्त्रकाृ चिरहरण रोक्न ।

यस अवस्थालाई ध्यानमा राख्दा समाजको लागि राजनीति गरेको, राष्ट्रका लागि राजनीति गरेको, हामी भन्छौं भने सबै भन्दा पहिले भ्रष्ट प्रवृत्तिका विरुद्ध उभिनु आजको सबभन्दा ठूलो राजनीति हो । सबभन्दा ठूलो क्रान्तिकारीता हो । र सबभन्दा ठूलो समाज सेवा हो । सिद्धान्त निष्ठा र आदर्शको पुनरोदय यहिबाट शूरु हुन्छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद यहिबाट शूरु हुन्छ । तसर्थ नेपाली काँग्रेसका सदस्य साथीहरुले भ्रष्टाचार बिरुद्ध कडाभन्दा कडा लडाईँ लड्नुपर्छ । नेपालको राजनीतिलाई विकृति विसंगतिमुक्त तुल्याई सम्मनित क्षेत्र बनाउन लाग्नुपर्छ । (रामचन्द्र पौडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.