भ्रष्टाचार नियन्त्रणमा सञ्चारकर्मीको सहयोगी भूमिका आवश्यक

रिपोर्ट नेपाल | 2019 Mar 10 | 06:37 pm 1193

काठमाडौँ,  फागुन २६  : भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चारकर्मी एक अर्काका सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आयोगले आजदेखि शुरु गरेको तीनदिने खोज पत्रकारिता तालीमको सुरुआत गर्दै आयोगका आयुक्त डा गणेशराज जोशीले भ्रष्टाचार र अनियमितताको नियन्त्रणका लागि आयोग र सञ्चारकर्मी एक अर्काका परिपूरक हुनुपर्ने बताए।

उनले भ्रष्टाचार राष्ट्रिय चिन्ताको विषय भएकाले अनुसन्धानको दायरा फराकिलो बनाउन र सही एवम् तथ्यपूर्ण सूचना प्रवाहका लागि सञ्चारकर्मीसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने आयुक्त डा जोशीको भनाइ थियो । सरकारले आर्थिक समृद्धिको विषयलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेको सन्दर्भमा त्यसलाई प्राप्त गर्नसमेत सरकारी निकायहरु इमान्दार हुनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालले आयोगका हरेक गतिविधिलाई सञ्चारमाध्यमले उचित प्राथमिकतामा राखेको भन्दै आगामी दिन थप नयाँ आयामको खोजी गर्दै थप सहजीकरण गरिने बताए । नियमितभन्दा पनि विषयवस्तुको गहिराइलाई बुझेर सार्थक सूचना सम्प्रेषण होओस् भन्नेमा आयोग सधैँ प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरोकार भएका सबैको उत्तिकै प्रयत्न आवश्यक रहेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.