भोली देखि गलकोटमा राष्ट्रिय महिला भलिबल हुने

रिपोर्ट नेपाल | 2018 Oct 08 | 12:30 pm 2289

बाग्लुङ, असोज २२ : नेपाल भलिबल संघको आयोजना र गलकोट नगरपालिकाको सहयोगमा भोली मंगलबार देखि गलकोटमा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जिल्ला भलिबल संघ बाग्लुङका अध्यक्ष याम श्रीसले जनाएका छन् । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने अध्यक्ष श्रीसले बताए । प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख खर्च हुने अनुमान गरिएको छ । खेलकुदका लागि गलकोट नगरपालिकाले आठ लाख, गलकोट सेवा समाज जापानले दुई लाख ५० हजार उपलब्ध गराएको जानकारी दिइएको छ ।

विभिन्न सामाजिक संघसंस्था तथा स्थानिय व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल भलिबल संघले खेल सामग्री र नगद एक लाख जिल्ला संघलाई उपलब्ध गराएको थियो । प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने बताइएको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.