भूमिहीनको लगत सङ्कलन सुरु

रिपोर्ट नेपाल | 2022 Jun 12 | 07:32 am 1157

बैतडी, जेठ २९ः भूमि आयोगले बैतडीले भूमिहीनलाई जग्गा वितरण गर्न लगत सङ्लन सुरु गरेको छ । आयोगले लगत सङ्कलन सुरु गरेपछि २०५१ सालमा लालपुर्जा पाएर कित्ता पत्ता नलागेका २२६ सुकुम्बासी जग्गा पाइने भन्दै खुसी भएका छन् ।

सुकुम्बासी समस्या समाधान आयोगले २०५१ सालमा बैतडीमा २२६ परिवार सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको थियो । तर, वितरण गरिएको लालपुर्जाअनुसारको जग्गाको कित्ता कतै भेटिएको थिएन । लालपुर्जा प्राप्त गर्ने भनदेव कलौनीले भने, “लालपुर्जा पाए पनि सोअनुसारको कित्ता भएको जग्गा कतै भेटाउन सकिएन ।”

उनले भने, “पहिला पुर्जा पाएर पनि जग्गा पाइएन, अहिले फेरि लगत सङ्कलनले आशा पलाएको छ ।” सरकारले २०५१ सालमा बैतडीका साबिकका पाटन,  भूमेश्वर, सिद्धेश्वर, सिद्धपुर, मेलौली, कुलाउ, पञ्चेश्वर, शर्माली, महाकाली, मल्लादेही, तल्लादेही, कोटपेटरा, न्वादेउ, कुवाकोट, हाट, शिवनाथ, गाँजरी, सित्तड, गोकुलेश्वरलगायत गाउँ विकास समिति छनोट गरी २२६ परिवारलाई प्रतिपरिवार पाँच रोपनी जग्गाको लालपुर्जा वितरण गरेको थियो ।

आयोगका जिल्ला अध्यक्ष धार्मसिंह ऐर (कपिल)ले भूमिसम्बन्धी समस्या सामाधान गर्न स्थानीय तहमा लगत सङ्कलन कार्य सुरु गरिएको बताए । अध्यक्ष ऐरका अनुसार पञ्चेश्वरबाट ६४७ जना भूमिहीनको लगत सङ्कलन भएर आएको छ । गाउँपालिकाले प्रमाणित गरेर पठाएका भूमिहीनको लगत भूमि आयोगमा आइपुगेको छ । पहिला लालपुर्जा पाएकाहरूको पनि छानबिन गरेर भूमिको समस्या समाधान गरिने अध्यक्ष ऐरले बताए ।

भूमि आयोगको केन्द्रीय कार्यालयलेसमेत लगत सङ्कलनसम्बन्धी ३५ दिने सूचनाका आधारमा अहिले स्थानीय सरकारका प्रमुख उपप्रमुहरूसँग छलफल र समन्वय भइरहेको भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.