भूपू गोर्खालाई सरकारको बेवास्ता -२

रिपोर्ट नेपाल | 2020 Jul 29 | 09:05 pm 2559

  • बसन्त भुजेल

विदेशी सेनामा भर्ती हुनु कुनै पनि देशका नागरिकका निम्ति रहर नभएर वाध्यता हो । नेपालीका निम्ति त अझै ठूलो वाध्यता हो । अरु क्षेत्रमा बैदेशिक रोजगारी फष्टाएको २०४६ सालको परिवर्तनपछि मात्रै हो । त्यसअघि विदेशी सेनामा कार्यरत नेपालीहरुले भित्राउने रेमिट्यान्स नै मुलुकको बैदेशिक मुद्राको मुख्य स्रोत थियो । करिव दुई सय वर्ष देखि गोर्खा भर्ती केन्द्र मार्फत नेपालले उल्लेख्य परिणाममा रेमिट्यान्स भित्राउँदै आएको छ । तर, विदेशी सेनामा भर्ती भएका नागरिकका समस्या प्रति भने हाम्रो देशका शासकहरु बेखवर जस्तै भए । कुनै नीति नै भएन ।

हाम्रा शासक कति सम्म नालायक छन् ? भन्ने कुराको धेरै उदाहरणहरु छन् । जसमध्ये दक्षिण कोरियाको उदाहरण लिन सकिन्छ । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार कु गरी आफ्नो हातमा शासन लिने समयसम्म नेपालको अवस्था दक्षिण कोरियाको भन्दा धेरैमाथि थियो । नेपालले दक्षिण कोरियालाई खाद्यान्न सहयोग गर्ने गरेको मात्रै होइन कृषि प्रविधि पनि सहयोग गर्दथ्यो । तर अहिले दक्षिण कोरिया विश्वका सवै भन्दा धनी तथा विकसित १० वटा मुलुकको सूचीमा पर्छ । नेपाल भने सबैभन्दा गरिव र अविकसित १० वटा मुलुकको सूचिमा परेको छ ।

सन् १९६० को पूर्वार्धबाट नेपालको अहिलेको अवस्था जस्तै कोरियाले पनि वैदेशिक रोजगारका गन्तव्यहरू खोज्न थाल्यो । कोरियनहरू सस्तो श्रमिकका रूपमा साउदी अरब, अफ्रिका तथा तत्कालीन पश्चिम जर्मनीका तेल तथा कोइला खानीहरूमा काम गर्न जाने गर्दथे । केही सीमित महिलाहरू नर्सको रूपमा पनि काम गर्न जाने गर्दथे । त्यहाँ कोरियनहरूलाई औसतभन्दा कम पारिश्रमिक दिइने र थ्री डी काममा लगाइन्थ्यो । एकातिर देशमा श्रोत साधन र उद्योगधन्दा नभएर रोजगारीका अवसरहरू नहुँदा कोरियन युवाहरू विदेशिन बाध्य थिए भने अर्कोतिर कोरियनहरूले विदेशमा अत्यन्त कठिन र जोखिमपूर्ण काम गर्नुपरेको थियो ।

देश विकासका लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनीतिक नेतृत्व चाहिन्छ, जुन कोरियाले तत्कालीन राष्ट्रपति पार्क जङ ही को रूपमा पाएको थियो । आधुनिक कोरियाको जग बसाल्ने श्रेय उनैलाई जान्छ । राष्ट्रप्रति संवेदनशील एउटा कुशल र दूरदर्शी नेतृत्वले कसरी देशको भविष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त कथा यहीँबाट सुरु हुन्छ, जसले तत्कालीन राष्ट्रपति पार्क जङ ही को दूरदर्शिता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले कोरियालाई आधुनिक र विकसित राष्ट्रतिर डोर्याएको थियो ।

कुरा सन् १९६४ तिरको हो । तत्कालीन पश्चिम जर्मनीमा कोरियन कामदारहरूले अत्यन्त मिहिनेत र इमान्दारीका साथ काम गरेकाले त्यहाँका राष्ट्रप्रमुखले तत्कालीन कोरियन राष्ट्रपति पार्क जङ हीलाई तपाईंको देशको नागरिकले धेरै राम्रो काम गरे, त्यसबाट प्रभावित भएर हामी तपाईंलाई सम्मान गर्न चाहन्छौँ भनेर निमन्त्रणा पठाएछन् । त्यसै बेला सन् १९६४ डिसेम्बर १७ तारिखमा राष्ट्रपति पार्क जङ ही जर्मनीको भ्रमणमा गएका थिए ।

जर्मनी भ्रमणका बेला त्यहाँ कार्यरत आफ्नो देशका नागरिकहरूलाई भेटर उनीहरूका समस्याहरू प्रत्यक्ष सुन्न चाहेछन् । भेटमा राष्ट्रपतिले तपाईंहरूका समस्या, गुनासाहरू के छन् भनेर सोध्दा जवाफमा ती कामदारले भनेछन्, ‘राष्ट्रपति ज्यू हामी यसरी विदेशमा बस्न चाहान्नौँ । हामी आफ्नै देशमा बसेर पसिना बगाएर श्रम गरेर खान चाहान्छौँ । हामीलाई विदेशको ठाउँमा होइन, स्वदेशमै फिर्ता बोलाइदिनुस् ।’ राष्ट्रपति ज्यू भनेर उनीहरूले आखाँबाट आँशु झारेछन् । उनीहरूको पुकार सुनेपछि राष्ट्रपति निकै भावुक बन्दै एक नम्बरमा के वाचा गरेछन् भने अब उप्रान्त हाम्रो देशका नागरिकहरू कहिल्यै पनि कामदारको रूपमा विदेश जाने छैनन् । अनि दुई नम्बरमा जबसम्म कोरियाको बाटोघाटोमा लाखौँ गाडी कालो पत्रे सडकमा गुड्ने छैनन्, जबसम्म मैले मेरो देशको जमिन युरोपजस्तै बनाउने छैन तबसम्म युरोपको जमिनमा टेक्ने छैन भनेर बाचा गरेछन् । स्वदेश फर्के लगत्तै राष्ट्रपति पार्क जङ हीले विज्ञहरूको मिटिङ बोलाएर देशको आर्थिक विकास र औद्योगीकरणका लागि गहन अध्ययन र छलफल गरे । कैयौँ नयाँ आर्थिक नीतिहरू ल्याइयो । देशको औद्योगीकरणका लागि महत्वपूर्ण सउल बुसान द्रुतमार्ग निर्माण कार्य सुरु गरियो । देशमा कलकारखानाहरू खोलिन थाले । देशको आर्थिक अवस्था र लगानी अनुरूप सुरुमा थोरै लगानीमा गर्न सकिने हल्का साना उद्योगहरू झोला, मोजा, जुत्ता आदि बनाउने उद्योगहरू खोलिन थाले । त्यसपछि बिस्तारै आर्थिक अवस्था अलि सबल हँुदै गएपछि मझौला खालका उद्योग हुँदै ठूला उद्योगहरू खोलिन थालियो । १९७० को दशकमा साना उद्योगहरूबाट सुरु भएको कोरियाको व्यापार व्यवसाय ८० को दशकमा आउँदा फलाम स्टिल, अटोमोबाइल, मेसिनरी सामान र सेमी कन्डक्टर्सका सामानहरूको उत्पादन गरी निर्यात गर्नेसम्म पुगिसकेको थियो भने ९० को दशकसम्म आउँदाआउँदै स्टिल, अटोमोबाइल मेसिनरी सामान, सेमी कन्डक्टसनका सामानहरूका साथसाथै पानीजहाज, इलेक्ट्रोनिक्स, मोबाइल फोन, टेक्नोलोजी र पेट्रोकेमिकल प्रोडक्टहरू समेत उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुगिसकेको थियो ।

सन् १९६४ मा वार्षिक करिब १० करोड अमेरिकी डलर बराबरको मात्र अन्तर्राष्ट्रिय व्यापार रहेको कोरियाली अर्थतन्त्र सन् २०१३ सम्म आइपुग्दा वार्षिक करिब ५६ हजार करोड अमेरिकी डलर बराबरको व्यापार गर्दै विश्वको सातौँ निर्यातकर्ता राष्ट्र बनेको थियो । यसैगरी सन् १९६० मा प्रतिव्यक्ति आय ७९ डलर रहेकोमा २०१४ सम्म आइपुग्दा प्रतिव्यक्ति आय २८ हजार डलर रहेको थियो भने सन् २०२० फेब्रुअरी सम्ममा त्यो बढेर ३१ हजार ४ सय ३१ अमेरिकी डलर भएको छ । यसरी सन् १९६० को विश्वको सबैभन्दा गरिब देशहरूमध्येको एक दक्षिण कोरिया सन् २०२० सम्म आइपुग्दा विश्वको १२औँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ । १९६० पछि कोरियाले विश्वले नपत्याउने गरी यति तीव्र गतिमा विकास गर्यो कि छोटो अवधिमै रेमिट्यान्सबाट चलेको देशमा रोजगारीका लागि बिदेशिएका युवाहरूलाई फिर्ता बोलाएर तिनीहरूलाई स्वदेशमै रोजगारी दिन सफल मात्र भएन, विदेशीहरूलाई समेत कोरिया भित्राएर रोजगारी दिनसक्ने अवस्थामा पुगेको थियो । देशभर धमाधम विकासका पूर्वाधारहरू बिजुली, सडक, बाटोघाटो, प्राविधिक शिक्षालयहरूको निर्माणमा जोड दिइयो । उद्योग, कलकारखानाहरू खुल्न थाले । राष्ट्रपति पार्क जङ ही पछिका राष्ट्रपति र सरकारहरूले पनि उहाँका नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिए । देश कृषिप्रधान देशबाट औद्योगिक राष्ट्रमा प्रवेश गर्यो । यसका साथै दक्षिण कोरिया विश्वका विकसित र प्रमुख अन्तराष्ट्रिय व्यापारिक राष्ट्रहरूको संगठन ओइसीडी र जी२०एफ जस्ता संगठनहरूमा सामेल हुनुका साथै सहयोग लिने राष्ट्रबाट सहयोग दिने राष्ट्रहरूको संगठन डीएसीको सदस्य राष्ट्रसमेत भइसकेको छ ।

बेलायती सेनामा कार्यरत तथा भूतपूर्वहरुले लामो समयदेखि झेल्दै आएको समस्याका सन्दर्भमा हाम्रो सरकार कति सम्म उदासिन रह्यो ? स्वयम् बेलायती नागरिक तथा अधिकारकर्मीहरुले के कसरी सहयोग पुर्याए ? भन्ने विषयमा गतांकमा पनि केही चर्चा गरिएको छ । यस अंकमा एउटा अर्को उदाहरण दिनु सान्दर्भीक हुनेछ ।

करिब दुई दशक अघिको घटना हो । बेलायतको सबै भन्दा ठूलो युद्धपदक भिक्टोरिया क्रस विजेता लछुमन गुरुङ बिरामी भए । उपचारका लागि बेलायत जान उनले नेपाल स्थित बेलायती राजदूतावासमा निवेदन दिए, तर दूतावासका कर्मचारीहरुले भिक्टोरिया क्रस विजेता हुन् भन्ने जानकारी नराख्दा भीषा दिन ढिलाई भयो । यो समाचार बेलायतको एक प्रसिद्ध म्यागेजिनमा छापियो । समाचार पढेपछि प्रसिद्ध अभिनेतृ जोहना लुम्लेले आफ्नो देशको सरकारलाई यो कुरा अवगत गराइन् । किनकी दोस्रो विश्वयुद्धमा जापानीहरुले उनका पितालाई मार्न खोज्दा लछुमन गुरुङले नै बचाएका थिए । त्यस पछि आफ्नो जन्म भएकोले उनी आफुलाई गोर्खालीकी छोरी भनेर चिनाउने गर्छिन् । आफ्ना पिता र लछुमन गुरुङको संयुक्त तस्वीर उनले आफ्नो बैठक कक्षको भित्तमा सजाएर राखेकी छिन् ।
भिक्टोरिया क्रस विजेताहरु प्रति बेलायतका सर्वसाधारण जनताले धेरै श्रद्धा गर्छन् । सरकारले पनि मर्यादा क्रममा प्रधानमन्त्री भन्दा माथि राखेको छ ।

जोहना लुम्लेको पहलपछि बेलायत प्रस्थान गर्दा लछुमनले ठूलो सम्मान पाएका थिए । उनी चढेको विमान लण्डनको आकाशमा प्रवेश गर्ना साथ अरु उडान बन्द गरियो । स्वागतका लागि विमानस्थलबाट सिधै राजमहल लगियो । उनको स्वागतका लागि महारानीको भेटघाट कक्षमा आधा घण्टा पहिले नै प्रधानमन्त्री, सभामुख मन्त्रीहरु उपस्थित भइसकेका थिए । लछुमन गुरुङ प्रवेश गर्ना साथ महारानी बाहेक सबैले उठेर स्वागत गरे । महारानीको नजिकै राखिएको आसनमा लछुमनलाई ग्रहण गराइयो । तर महारानी बाहेक अरु उठेको उठै भए । राजदरवारमा हुने समारोहमा भिक्टोरिया क्रस विजेताको मर्यादाक्रम प्रधानमन्त्रीको भन्दामाथि हुन्छ भने जानकारी गुरुङलाई दिइएको रहेनछ । भिक्टोरिया क्रसविजेता गुरुङले आदेश नदिई प्रधानमन्त्री समेत बस्न नमिल्ने रहेछ । प्रधानमन्त्रीलाई समेत आफुले बस्ने आदेश दिनु पर्छ भन्ने कुरा गुरुङलाई के थाहा ? कसैले यो कुरा अवगत गराई दिएपछि गुरुङले आदेश दिए । त्यस पछि मात्रै प्रधानमन्त्री, सभामुख मन्त्रीहरु बसे ।

यति ठूलो सम्मान पाउने हैसियतका भिक्टोरिया क्रस विजेताहरुको त यस्तो हालत छ भने अरु सामान्य भूपुहरुको हालत के होला ?

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.