प्रचण्डले टीका नलगाउने, अरू कसले कसरी मनाउँदैछन् ?

| 2018 Nov 09 | 05:28 am 1680

काठमाडाैं, कात्तिक २३ :  यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।

हिन्दू नेपालीको दोश्रो मुख्य चाड तिहारमा राजनीतिक नेतृत्वको व्यस्तता केही कम हुने भएकाले उनीहरु परिवार र कार्यकर्तासँग तिहार मनाउँछन् । प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताले पारिवारिक जमघट गरेर भाइटीका लगाउँदै छन् ।

कुन नेताले कोसँग भाइटीका लगाउँदै छन् त ?

राष्ट्रपति विद्यादेवी भण्डारी : तिहारको समयमा मुख्य राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री, एवम् मन्त्रीहरूले फुर्सद पाएका छन् । पारिवारिक भेटघाटसँगै आफ्ना दिदीबहिनीबाट तिहारको भाइटीका ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छिन् । अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने निजी सचिवालयले जानकारी दिएको छ । झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकालले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिने कार्यक्रम छ ।

अध्यक्ष पुष्पकमल दाहाल : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् ।

माधव नेपाल : नेकपाका तेस्रो वरियताका नेता माधव नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् ।

झलनाथ खनाल : त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै टीका थाप्ने कार्यक्रम छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट टीका लगाउने जनाइएको छ ।

रामचन्द्र पौडल : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले भने ठूलीआमाकी छोरी चन्दा ओझाबाट टीका थाप्ने गरेका छन् ।

विमेलेन्द्र निधी : काँग्रेसका उपसभापति विमलेन्द्र निधीले यसपालिको तिहार प्रदेश २ मा मनाउने भएका छन् । उनी भाइटीका ग्रहण गर्न सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ जाने भएका छन् ।

विजयकुमार गच्छदार : काँग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदार थारु परम्पराअनुसार तिहार मनाउने भएका छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी (काकाकी छोरी ) को हातबाट तीका लागाउने गच्छदारका सहयोगहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.