काठमाडौं, साउन ३१ : नेपाल चिकित्सक संघले भाेली (भदौ १ गते)देखि लागू हुने नयाँ ऐनको विरोध गरेको छ । ऐनले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले विरोध गरेको हो ।
संघले भाेलीदेखि लागू हुने मुलुकी ऐन, मुलुकी अपराध (संहिता)ऐन २०७४ र मुलुकी फौजदारी ऐनमा विवादित कुराहरु संशोधन गर्न माग गरेको छ ।
संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नेपाल सरकारले यो संवेदनशील विषयमा अविलम्ब सम्बोधन गरी उक्त विवादित ऐनहरूलाई संशोधन गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । अन्यथा भदौ १ गतेदेखि नै देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउन बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’



