भावी प्रधानन्यायाधीशको अनुमोदन आशंकाको घेरामा

| 2018 Jul 28 | 11:07 am 1357

भावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन हुनेमा आशंका बढेको छ । नाम अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय दिन हिजो शुक्रबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्ने गरी सारिएको छ । यसरी हिजै निर्णय नसुनाएर म्याद सारिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको स्रोतले जनाएको छ ।

समितिको बैठक भोल आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको छ । सुत्रका अनुसार कामु प्रधानन्यायाधीश जोशीबारे विभिन्न गम्भीर प्रकृतिका उजुरी परेकोले सोचविचार पुर्याएर मात्र उनको नाम अनुमोदन गर्नेबारे निर्णय लिनुपर्ने भनी प्रधानमन्त्रीलाई सुझाव दिइएपछि प्रधानमन्त्रीकै निर्देशनमा आइतबारका लागि म्याद सारिएको हो ।

यसरी प्रधानमन्त्रीले नै विशेष चासो देखाउँदा यसबारेको निर्णय के हुने भन्नेमा चासो र आशंका बढेको छ । प्रधानमन्त्री ओली प्रधानन्यायाधीश छनोटमा विवादमा आउन चाहिरहेका छैनन्, त्यसैले शनिबार विशेष परामर्शपछि मात्र आइतबार के गर्ने भन्ने निचोडमा पुग्ने बुझिएको छ ।

भावी प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.