भारतीय विद्यालयमा पढ्न बाध्य छन् सुस्ताका विद्यार्थी, राज्य के हेरिरहेको छ ?

| 2018 Aug 06 | 10:17 am 1536

सुस्तामा सीमा मिचिएको कुरा नसुन्ने सायद कुनै सचेत नेपाली छैनन् होला । भारततर्फबाट ठूलो भूभाग मिचिए पनि सुस्तावासी नेपाली थिचोमिचो सहन बाध्य बनेका छन् । किनकि, जतिसुकै आवाज उठाएर झक्झकाउँदा पनि नेपाल सरकारले आफ्ना नागरिक तथा स्वदेशी भूभागको सुरक्षामा संवेदनशीलता देखाएन । सीमा अतिक्रमणको विरोध गर्ने नेपालीको ज्यान नै जोखिममा पर्ने घटना एकपछि अर्को गरी देखा पर्दा पनि राज्यले थाहा नपाए जस्तो गरेपछि सुस्तावासी सेलाउन पुगे ।

यस्तो नियति ब्यहोर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका यतिबेला थप मारमा परेका छन् । उनीहरु कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।

सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् । सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहुँदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भैंसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचाल पनि स्वीकारर्दछन् ।

उनका अनुसार करीब ७० प्रतिशत विद्यार्थी भारतीय बजारमा अध्ययन गर्न बाध्य छन् । सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले जानकारी दिए ।

पीडामा परेका सुस्तावासी यसरी थप पीडामा परेको र पढ्न समेत नपाएर भारत जानुपरेको कुरालाई राज्यले कसरी लिन्छ ? भारतीय विद्यालयमा पढ्ने नेपाली विद्यार्थीले के सिक्छन्, कताको राष्ट्रियता बुझ्छन् र अँगाल्छन् ? यो अत्यन्त गम्भीर विषयतर्फ राज्यका निकायको ध्यान पुग्नु अपरिहार्य देखिन्छ ।

– विनोद कुमार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.