भारतले विना अनुमति नेपाली भूमिमा बाटो बनाउँदै

| 2018 Nov 18 | 07:46 am 1586

दार्चुला, मंसिर १ : भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो। भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ।

त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए।

‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने। भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ। त्यही विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा पनि घोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ। उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ।

स्थानीय बासिन्दाको विरोध

स्थानीय बासिन्दाले विरोध गरे पनि नेपालीलाई पनि आवतजावत सहज हुने बताउँदै भारतीय अधिकारीहरूले बाटो बनाइरहेका छन्। ‘हामीलाई मात्रै होइन, नेपालीलाई पनि सजिलो हुन्छ भनेर धमाधम काम गरिरहेका छन्,’ स्थानीय बासिन्दा नरेश धामीले भने।

पुल र बाटो निर्माणको सम्पूर्ण खर्च भारत सरकारकै लोक निर्माण विभागले बेहोरेको निर्माण कम्पनीका प्रतिनिधि विष्टले बताए। भारतीय क्षेत्रमा सडक निर्माण नभएसम्म नेपालकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

गत वर्ष यही क्षेत्रमा महाकाली नदीमाथि दुई ठाउँमा एकलौटी काठेपुल बनाउँदा विरोध भएको थियो। पछि नेपालबाट अनुमति लिइएको थियो । दुई पुल निर्माणका लागि अनुमति लिइए पनि दोपाखे क्षेत्रमा तेस्रो पुल पनि बनाएको थियो।

नेपाली कामदार नै प्रयोग

भारतले नेपाली भूभागमा बाटो बनाउन नेपाली मजदुरलाई नै लगाएको छ । बाटो खन्ने, सामान ओसार्ने र भारी बोक्ने काम नेपालीले नै गर्दै आएका छन्। सामान ढुवानी गर्दै आएका व्यास–४ सुन्सेराका जनकसिंह कुँवरले भने, ‘नेपाल सरकारले रोजगार दिँदैन, परिवार पाल्न काम त गर्नै प-यो।’

कात्तिक पहिलो सातादेखि निर्माण कार्य भइरहेको छ। दैनिक सात/आठजनाले बाटो खनिरहेको व्यास–५ स्याँकुका जनक धामीले बताए । ‘यो क्षेत्रमा नेपाल सरकारले केही गर्दैन, भारत सरकारले नै गर्ने हो। जसको भए पनि काम त गर्नै प-यो।’

नेपाली मजदुरले बाटो निर्माणमा दैनिक आठ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । त्यस्तै, बाटो निर्माण भइरहेको क्षेत्रमा सामान बोक्न प्रतिकिलोग्राम २० रुपैयाँसम्म ज्याला पाउने गरेको स्थानीय जनकसिंह कुँवरले बताए। यो खबर आजको नयाँ पत्रिकामा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.