भारतलाई ८ अर्बको बिजुली बिक्री

रिपोर्ट नेपाल | 2022 Oct 12 | 07:53 am 797

काठमाडौं, असाेज २६: नेपालबाट भारतर्फ हुने विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १९ बाट बिक्री सुरु गरेको थियो। इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत नेपालको विद्युत् बिक्री गरेको हो।

असोज २५ सम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,’ उनले भने। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ।
सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँबराबरको भारतीय मुद्रा नेपाल भित्रिएको छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ।

प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। आईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.