भारतबाट फर्काएका महिला भन्छन्- ‘स्वेच्छिक रुपले खाडी मुलुक जान लागेका थियौँ’

| 2018 Aug 09 | 07:32 am 2016

बाँके । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाका अनुसार उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको हो ।

खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो । मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको बताइएको छ ।

उद्धार गरिएकामा दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला छन् । नेपालगन्ज नजिकका महिलालाई यही राखेर परिवारसँग पुनर्मिलन गराइने तयारी रहेको जानकारी दिँदै उनले भने, ‘कतिपय महिलाका परिवार नेपालगन्ज आइसक्नु भएको छ, कतिपय बाटोमै आउँदै गरेको जानकारी प्राप्त भएको छ ।’

ती महिलाले आफूहरू स्वेच्छिकरूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर त्यसतर्फ जान लागेको प्रतिक्रिया उनीहरूले दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.