काँकडभिट्टा, वैशाख २६ : भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई नेपाल फिर्ता ल्याइएको छ। उनीहरुलाई बिहीबार पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै नेपाल ल्याइएको हो।उद्धार गरिएको स्थान मिजोरम बर्मासँग सीमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य हो।
विभिन्न दलालको माध्यमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएका ती महिलालाई मिजोरमको चम्फी भन्ने स्थानबाट भारतीय संस्था र मिजोरम पुलिसले ६ दिनअघि स्थानीय नेपाली भाषीको सुराकका आधारमा उद्धार गरको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव कृष्णप्रसाद भुसालले बताए।
भारतीय नागरिक नेपाली भाषी एजेन्ट लालबहादुरले उनिहरुलाई सो स्थान पुर्याएको खुलेको उनको भनाई छ। सो नाकालाई माध्यम बनाएर दक्षिणपूर्वी एसियाली मुलुक लैजान तयारी भइरहेको समयमा एजेन्ट लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाएका छन्। उनको समूहमा अन्य एजेन्ट पनि रहेकाले अनुसन्धान भइरहेको बताइएको छ।