भारतबाट आएर सुनसरीमा बसेका २२ विदेशी फेला

रिपोर्ट नेपाल | 2020 Apr 05 | 03:32 pm 2199

सुनसरी, चैत २३ः भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो ।

प्रहरीले हाल उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षितरूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दैै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ ।

स्थानीयवासीले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गर्ने क्रममा फेला पारेका मानिसका बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकिछिपी सुनसरीमा बस्न सक्ने अवस्था नरहेको सुनसरी प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.