भाडा वृद्धिको विरोधमा उद्योगी

रिपोर्ट नेपाल | 2022 Dec 13 | 07:31 am 1433

काठमाडौँ, मङ्सिर २७ः औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् ।

कल्याण तथा सुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रले सोमबार पत्रकार सम्मेलन गरेर बढेको भाडा तत्काल फिर्ता गर्नुपर्ने माग गरेको हो । समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कानुनविपरीत औद्योगिक क्षेत्रमा आठ गुणासम्म भाडा वृद्धि गर्दा उद्योगी व्यवसायी मारमा परेको बताए ।

“भाडा बढाउने निर्णय कानुनसम्मत छैन, कति प्रतिशतसम्म बढाउने भनेर उद्योगी व्यवसायीसँग छलफल नगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले एकलौटी बढाएको भाडा मान्य छैन,” उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालमा बढाएको भाडा गत भदौ महिनादेखि कार्यान्वयनमा ल्याएको थियो ।

२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँच÷पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने नियमविपरीत २०७२ देखि २०७४ सालमा १५÷१५ प्रतिशतले वृद्धि गर्नुपर्ने र २०७५ सालमै एकै पटक आठ सय प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियमावली विपरीत रहेको उद्योग उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष डा. नारायण रेग्मीले २०७५ सालमा निर्णय गरी बढाइएको भाडा अहिले कार्यान्वयन गरिएको जानकारी दिए ।

मन्त्रालयले तत्काल भाडा वृद्धि नगर्न भने पनि कार्यान्वयन गर्ने अधिकार बोर्डकै रहेकाले गत भदौदेखि बढाएको भाडा लागू गरेको उनले जानकारी दिए । उनले भाडा वृद्धिको विषयमा अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि त्यस विषयमा थप छलफल गरिने जानकारी दिए ।

मुलुकभर सरकारी स्वामित्वमा १० वटा औद्योगिक क्षेत्र रहेका छन् । तीनमा ७५० उद्योग सञ्चालनमा रहेको र ५० हजारले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रूपमा रोजगारी पाएको कल्याण तथा सुरक्षा समिति (पाटन औद्योगिक क्षेत्र)का अध्यक्ष शैलेन्द्रलाल अध्यक्ष प्रधानले जानकारी दिए ।

औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले विभिन्न शीर्षकमा वार्षिक ५५ अर्ब रुपियाँ सरकारलाई बुझाउने गरेको उद्योगीको भनाइ छ ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले नियमविपरीत अस्वाभाविक रूपमा बढाइएको भाडा फिर्ता नगरे कडा आन्दोलन गरिने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको एकतर्फी, अन्यायपूर्ण र विभेदकारी ढङ्गले गरेको भाडा वृद्धिले उद्योगीलाई मारमा पारेको बताए। एकै पटक आठ सय प्रतिशतसम्म भाडा वृद्धि गर्दा उद्योग नै बन्द हुने अवस्थामा रहेकाले तत्काल फिर्ता गर्न माग गरिएको पाठकको भनाइ छ ।

बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र पोखरा औद्योगिक क्षेत्रमा आठ सय प्रतिशत र अन्य औद्योगिक क्षेत्रमा ६० देखि ७० प्रतिशत भाडा वृद्धि भएको  महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बालाजु औद्योगिक क्षेत्रमा प्रतिवर्ष प्रतिरोपनी १२ हजार ५२० रुपियाँ रहेको भाडा बढेर ८१ हजार पुगेको छ । पाटन औद्योगिक क्षेत्रमा प्रतिवर्ष प्रतिरोपनी आठ हजार तीन सय रुपियाँ भाडा रहेकामा बढेर ६४ हजार आठ सय रुपियाँ पुगेको छ । यस्तै हेटौँडा, धरान, नेपालगञ्ज औद्योगिक क्षेत्रमा छ हजार तीन सय रुपियाँ रहेको भाडा बढेर १६ हजार दुई सय रुपियाँ पुगेको छ ।

यस्तै पोखरा औद्योगिक क्षेत्रमा छ हजार तीन सय रहेको भाडा बढेर ५४ हजार रुपियाँ पुगेको छ भने बुटवल औद्योगिक क्षेत्रमा छ हजार तीन सय रुपियाँ रहेको भाडा बढेर १६ हजार दुई सय पुगेको छ । भक्तपुर औद्योगिक क्षेत्रमा आठ हजार तीन सय रुपियाँ रहेको भाडा ५४ हजार पुगेको छ । विराटनगर र गजेन्द्रनारायण औद्योगिक क्षेत्र (राजविराज)मा पाँच हजार रहेको भाडा बढेर १० हजार आठ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

समितिले आइतबारदेखि भाडा वृद्धि फिर्ता गर्न मागसहितको विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । माग पूरा नभएसम्म औद्योगिक व्यवस्थापन लिमिटेडलाई भाडा शुल्क रकम भुक्तानी नगर्ने समितिले जनाएको छ । उपत्यकाबाहिर रहेका विभिन्न औद्योगिक क्षेत्रमा उद्योगीले तालाबन्दीसमेत गरेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.