भर्ना दर वृद्धि गर्न अभिभावकबाट आमा समूह गठन

रिपोर्ट नेपाल | 2023 Feb 18 | 08:08 am 1369

दोलखा, फागुन ६ः दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले अभिभावकबाट आमा समूह गठन गरेको छ । बचतको माध्यमबाट विद्यार्थी भर्ना दर वृद्धि गर्न समूह गठन गरिएको विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम गठित आमा समूह कुटी डाँडामार्फत महिला अभिभावकले मासिक ५० रुपियाँ बचत गर्ने व्यवस्था मिलाइएको छ । बचतको मोहले विद्यार्थी भर्नामा पनि सुधार आएको छ । दिनपरदिन विद्यार्थी न्यून हुँदै जान थालेपछि यो विधि अपनाइएको हो । अहिले आफ्ना बच्चा भर्ना गर्ने र बचत गर्नेमा होडबाजी पनि चलेको छ । मासिक बैठकमा बच्चाहरुको पढाइको पनि समीक्षा गरिन्छ ।

व्यवस्थित ढङ्गले सञ्चालन गर्न अभिभावकबाट अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरू र विद्यालयबाट सचिव हुने गरी सात सदस्यीय समिति गठन भएको छ । कक्षा १ देखि ५ सम्मका इच्छुक ९५ जना महिला आबद्ध रहेका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

हरेक महिनामा मासिक बैठक हुने गर्दछ । सोही दिन नै बचत सङ्कलन गरिन्छ । सङ्कलित रकम आयआर्जनका लागि आवद्धहरुलाई दिने गरिन्छ । एक जनालाई बढीमा १० हजार चार महिनाका लागि सामूहिक जमानीमा ऋण प्रवाह गरिन्छ । १५ प्रतिशत व्याज र सावाँ एक मुष्ट बुझाउनु पर्छ । बचतमा १० प्रतिशत व्याज दिने गरिएको उनले बताए ।

कक्षा ५ उत्तीर्ण भएपछि व्याज सहितको बचत एक मुष्ट फिर्ता दिने गरिएको छ । उनले भने, कक्षा ५ उत्तीर्ण भएर गएपछि कक्षा १ थपिन्छ । यही चक्र अनुसार बचत र समिति बन्दै जाने गर्दछ । कक्षा १० सम्म बचत गर्ने व्यवस्था गर्न माग आइरहेको छ । प्रभावकारी भए पनि ठुलो आकारको हुन जाने हुँदा विद्यालयले व्यवस्था मिलाउन अलि गारो हुने महसुस गरिएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.