भन्सार छल्ने दुई भारतीय तस्कर सशस्त्रको कब्जामा

रिपोर्ट नेपाल | 2018 Oct 06 | 07:54 am 1541

बुटवल, असोज २० : सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले नेपाल भारत सिमा स्थल बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अङ्कीत गोयलबाट रु १६ लाख दुई हजार बराबरको सामान बरामद सहित गाडी र उनीहरूलाई भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

समय समयमा प्रहरीले जाँचका क्रममा सामान र ढुवानी गरेका सवारी साधान बरामद गर्ने तर तस्करलाई भने पक्राउ गर्न नसकेको कुरामा ध्यानाकर्षण गराउँदा नायब उपरीक्षक गोविन्द खातीले रातीका समयमा प्रहरीलाई देख्नासाथ सवारी साधन छोडेर भाग्ने तस्कर बाहेक अन्यलाई पक्राउ गरी राजस्वमा बुझाउने गरिएको बताए ।

डिएसपी खातीका अनुसार पछिल्लो एक महीनामा मात्र सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्राइएका करिब ३० लाख भन्दा बढीको विभिन्न प्रकारका सामान बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.