भनसुनको आधारमा बजेट बिनियोजन भए प्रदेशको विकास असम्भव: मुख्यमन्त्री शाही

रिपोर्ट नेपाल | 2018 Aug 29 | 05:25 pm 2145

सुर्खेत, भदौ १३: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षणका लागि सरकार गम्भिर भएको बताउदै वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बुधबार सुर्खेतमा आयोजित प्राथमिकतामा वातावरण सञ्चार विषयक कार्यक्रममा मुख्य मन्त्री शाहीले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई मध्यनजर गर्दै प्रदेश सरकारले वातावरण संरक्षणमा विशेष जोड दिएको बताएका थिए।

नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारले वातावरण संरक्षणकै लागि भनेर आधा अर्ब बजेट छुट्याएको बताए । उनले यसकालागि पहिलो चरणमा प्रदेशका २४ वटै निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने संकल्प गरेका थिए ।

मुख्यमन्त्री शाहीले प्रति व्यक्ति १० वटा बिरुवा रोप्ने र प्रति बिरुवा रोपेबापत रु एक सय प्रोत्साहन रकम दिने नीति अख्तियार गरेको बताउदै यस कार्यक्रमबाट हरित अर्थतन्त्रको नीति अवलम्बन हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

अबको विकास निर्माण कार्य वातावरणीय प्रभाव मूल्याङ्कन गरेरमात्र अघि बढ्नुपर्ने कुरामा जोड दिदै मुख्यमन्त्री शाहीले मुलुकले दीर्घकालीन प्रभाव पार्ने गुरुयोजना निर्माण नगरेकै कारण अपेक्षित विकास हुन नसकेको धारणा व्यक्त गरेका थिए ।

अबको मुद्दा देश विकास र समाजको रुपान्तरणका लागि लाग्नु पर्ने र त्यसका लागि शक्तिका आधारमा बजेट विनियोजन गर्ने प्रक्रिया कायम रहें देश अझै ५० वर्षपछि धकेलिने शाहीको दावी रहेको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेश अन्य प्रदेश भन्दा वातावरणमा सुरक्षित रहेको उल्लेख गर्दै मन्त्रालयबाट अब बन्ने संरचना वातावरणमैत्री हुने बताएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका एशोसियट प्रोफेसर डा विनय मिश्रले जलवायु परिवर्तनले दिनहुँ बढिरहेको विश्व तापमान, प्रभाव र त्यससँग जुध्ने हाम्रो संयन्त्र निर्माणका लागि प्रदेश सरकारले अहम भूमिका निर्वाह गर्नुपर्ने कुरा माथि जोड दिएका थिए ।

प्रदेशसभा सदस्यद्वय अमरबहादुर थापा र सुशीला शाही, गाउँपालिका महासङ्घका अध्यक्ष कविन्द्र केसी, वातावरण श्रमिक सङ्घका अध्यक्ष चन्द्रप्रसाद थानी, नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सोमनाथ लामिछाने र कर्णालीका दशवटै जिल्लाका सहभागी प्रतिनिधिले जलवायु परिवर्तनले वातावरणमा पारेको असरका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.