भदौ १५ मा ओली–मोदी भेटवार्ता, यस्ता छन् बिमस्टेकका १४ एजेन्डा

| 2018 Aug 28 | 09:01 am 2075

काठमाडौं, भदौ १२: प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो। मोदीको नेपाल भ्रमणका वेला यसबारे छलफल भए पनि समझदारीपत्रमा हस्ताक्षर भएको थिएन। ‘यसपटक सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

उनका अनुसार भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ। मोदीले भारतका तर्फबाट निर्मित पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन्। श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ। ‘श्रीलंकाको एक थिंकट्यांक र नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ,’ ज्ञवालीले भने।

यस्ता छन् बिमस्टेकका १४ एजेन्डा

नयाँदिल्लीमा मे १० र ११मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन।
ढाकामा २०१७ नोभेम्बर १३ र १४मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन।
नयाँदिल्लीमा २०१७ नोभेम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन।
नयाँदिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन।
श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञसमूहले तयार गरेको प्रतिवेदन।
बंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरूको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन।
बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन।
थाइल्यान्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञसमूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन।
गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदन।
२०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन।
२०१७ अक्टोबर २४ र २५ मा नयाँदिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन।
बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा।
बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी विषयको तयारी।
श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.