भदौ १ गतेदेखि उद्दार उडान हुने

| 2020 Aug 15 | 07:39 am 1717

काठमाडौं, साउन ३१ः कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले आज नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरेका हुन् ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् ।

सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २ सय जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३ सय जना आफैँ टिकट काटेर आउने छन् । स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार यही साउन २९ गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६ सय ६२ रहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार मात्रै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ सय ५४ यात्रु तथा पाँच बच्चा नेपाल ल्याएको छ ।

सलाम एयरले मस्कटबाट १ सय ७५ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.