भत्ता रोकिँदा बाँच्नै गाह्रो

रिपोर्ट नेपाल | 2023 Feb 14 | 07:28 am 1101

सप्तरी, फागुन २ दुई किस्ता पाइसक्नुपर्ने बेलासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएपछि सप्तरीका गरिब दलित परिवारलाई छाक टार्न गाह्रो भएको छ।

नवीकरणको बहानामा दलित नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। सामाजिक सुरक्षा भत्ताको भरमा जीवन गुजारिरहेका राजविराज नगरपालिका–९, १० का मुसहर बस्तीका वृद्ध, अपाङ्गता भएका, एकल महिलालाई बाँच्नै गाह्रो भएको हो।

शुक्रबार वडा कार्यालय परिसरमा भेटेकी राजविराज वडा–१० गढियाकी सुकनी सदाले भक्कानिँदै भनिन्, “साउनदेखि भत्ताको एक सुका हातमा परेको छैन। खाना पकाएर परिवारको सबै खान्छन् म बूढाबूढीलाई भोकै राख्छन्। तिम्रो कमाइ छैन, सरकारको पैसा नि बन्द छ, तिमीहरूलाई बसेरै कहाँबाट खुवाउनु ? छोरा बुहारीले यस्तै भन्छन्।”

निर्वाचन खर्च भन्दै अघिल्लो पटक पनि आधा पैसा कटौती गरेर दिएको उनले बताए। त्यस यता पनि तीन महिनादेखि कार्डसहितका कागजात लिएर राजविराज वडा ९ को कार्यालय धाउँदै आएको मलेठ मुसहर बस्तीका हीरालाल सदाले बताए।

उनी थप्छन्, “मैले मेरै छिमेकी सीताराम सदासँगै वडा पुगेर गत असारमै नवीकरणका सबै कागजात सचिवलाई दिए तर हालसम्म नवीकरण नभएर मलगायत मेरै टोलका १० जनाभन्दा बढीले पैसा पाएनन्। सचिवलाई सोधेपछि अरूको कागज नगरमा दिए तल परेर तपाइलगायत केहीको कागज मेरै मिस्टेकले छुट्न गएकोले पैसा रोकिएको जवाफ आयो।”

गाउँघरका केही दलित, गरिब बस्तीमा कार्ड नवीकरण गराउनुपर्छ भन्ने सूचना पुगेन। प्रचारप्रसारमा हामीबाट कमिकमजोरी भएको राजविराज–९ का अध्यक्ष जवाहर यादवले स्वीकार गरे। उनले भने, “छुटेका नवीकरण भर्खरै पुसमा भयो होला। अब आउने किस्ता उनीहरूले पाउँछन्।” पीडित नागरिकले समयमा कागजात दिए पनि कर्मचारीको ढिलासुस्तीले समयमा कार्ड नवीकरण भएन। तोकिएकै समय सीमाभित्र नवीकरण नभएकाहरूको भत्ता रोकिएको हो। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.