भक्तपुरको बालसुधार गृहबाट २ सय २१ जना फरार

| 2023 Aug 21 | 05:12 pm 1841

काठमाडौँ, भदाै ४ । उमेरहदका कारण विभिन्न घटनामा संलग्न रही अदालतबाट सुधारगृहका लागि आदेश भएका एक बालकको मृत्यु भएपछि चर्किएको आन्दोलन भएका बेला  २ सय २१ जना नाबालक बन्दी फरार भएका छन् । शनिबार नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी नाबालक बन्दी  फरार भएको जनाइएको छ ।

सुधार गृहमा २ सय ९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमा ४२ जना बालिका र ३३ जना बालक  रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको भन्दै आन्दोलन भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।

सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।

थुनुवाहरु तोडफोडसहित फरार भएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत अनुसन्धान गर्नका लागि काठमाडाैं उपत्यका  प्रहरी कार्यालयबाट दुई जना प्रहरी उपरीक्षक घटनास्थलमा पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.