‘ब्लाइन्ड क्रिकेट’मा अट्ठा प्रहार, कसरी खेल्छन् ?

| 2019 Feb 11 | 09:43 am 2185

काठमाडौं, माघ २८ : विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ।

नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गर्‍यो। पाँच खेलको सिरिजमा नेपालले चार खेल जित्दा बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो।

पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको वर्ल्ड ब्लाइण्ड क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिजमा ऐतिहासिक जित हात पारेको नेपाली नेत्रहीन क्रिकेट टोली स्वदेश फर्किसकेको छ।

गत वर्ष नेपालको पुरुष नेत्रहीन क्रिकेट टोलीले ट्रेनको यात्रा गरेर पाकिस्तानमा ब्लाइन्ड वर्ल्डकप खेल्दा पनि नेपालको नेत्रहीन क्रिकेटको चर्चा भएको थियो। तर पछि त्यो चर्चा त्यतिमै सेलायो।

नर्मल क्रिकेटभन्दा केही फरक रहेको नेत्रहीन क्रिकेट कसरी खेलिन्छ भनेर सर्वसाधारणमा चासोसमेत बढेको छ।

रेगुलर क्रिकेट हेरे पनि र नेत्रहीन क्रिकेट नहेर्नहरुको लागि पनि यो कसरी खेलिन्छ होला भन्ने कौतुहलता जाग्नु स्वभाविक हो।

देख्नेहरुको लागिसमेत क्रिकेट खेल्नु कठिन हुने अवस्थामा नदेख्नेहरु त्यो पनि महिलाले कसरी खेल्छन् त क्रिकेट।

क्रिकेट जसले खेले पनि क्रिकेट नै हो। प्राय रेगुलर क्रिकेटकै नियम हुन्छ नेत्रहीन क्रिकेटमा पनि। तर रोचक कुरा आँखा राम्रोसँग नदेख्दा पनि उनीहरु अन्य खेलाडी सरह नै क्रिकेट खेलिरहेको जस्तो तरिकाले खेल्छन्।

चौका प्रहार गर्छन्। बोल्ड गर्छन्। क्याच लिन्छन्। रनआउट गर्छन्। नेत्रहीन क्रिकेटमा ब्याटिङ गर्ने खेलाडीको सट्टामा अर्को रनर कुद्ने भएकाले रनआउट हुने सम्भावना बढी हुन्छ।

तर यसमा खेलिने बल र बलिङ गर्ने तरिका भने रेगुलेर क्रिकेटको भन्दा फरक हुन्छ।

त्रहीन क्रिकेटमा तीन क्याटेगोरीका खेलाडी हुन्छन, बी वान, बी टू र बी थ्री। जसमध्ये प्लेइङ-११ मा बी वानबाट ४, बी टु बाट ३ र बी थ्री बाट ४ खेलाडी हुन्छन्। यस्तै प्रत्येक क्याटेगोरीका एक-एक एक्स्ट्रा खेलाडी हुन्छन्।

पहिलो क्याटेगोरीका खेलाडी पुरै नदेख्ने हुन्छन्। बी टु क्याटेगोरीका खेलाडीले ५ मिटरसम्म देख्छन् भने बी थ्री क्याटेगोरीका खेलाडीले ५ देखि १० मिटरसम्म देख्छन्।

बी वान क्याटेगोरीका खेलाडीले ब्याटिङ गर्दा अन्य दुई क्याटेगोरीबाट एक खेलाडी रन लिन रनरका रुपमा प्रयोग गर्छन्। उनीहरुले आफैँ रन लिन नसक्ने भएकाले बी वानको लागि रनरको व्यस्था गरिएको हुन्छ। यस्तै बी टू ले पनि आफूले चाहेको खण्डमा बी थ्री क्याटेगोरीका खेलाडी रनरको रुपमा राख्न पाउछन्।

यसैगरी बी वान क्याटेगोरीका खेलाडीले बनाएको रनसमेत डबल गणना हुन्छ। बी वान क्याटेगोरीका खेलाडीले एक रन प्रहार गर्दा बोनस स्वरुप एक रन थप पाउछन् र दुई रन हुन्छ। यसैगरी चौका हान्दा ८ रन र छक्का हान्दा १२ रन पाउँछन्। पाकिस्तानमा भएको सिरिजमा एक पटक मात्र बी वान क्याटेगोरीका खेलाडीले चौका प्रहार गरेका थिए र त्यो ८ रनमा गणना भएको थियो। र त्यस्तो भाग्यमानी खेलाडी नेपालकै मुना अर्याल बनेकी थिइन्। उनले पाकिस्तानविरुद्ध चौका प्रहार गर्दा त्यो ८ रन बनेको थियो।

नेपाल-पाकिस्तान सिरिजमा छक्का भने प्रहार भएन। यद्यपि नेपालकी मनकेसी चौधरी एक्लैले ३२ चौका प्रहार गरेकी थिइन्। बी टू क्याटेगोरीकी खेलाडी चौधरीले दुई अर्धशतकसहित कूल १८३ रन प्रहार गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.