बैंकिङ कसूर र क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

| 2022 Aug 24 | 06:54 pm 1177

काठमाडौं, भदाै ८ः  क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाई पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेका दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम (पूर्व) सिस्ने गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुर मकवानपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बुद्धनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा रहेका छन् । प्रहरीले अर्जुनलाई काठमाडौं सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बुद्धनगरबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दामा अर्जुन उपर २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रूपैयाँ जरिवाना र सोही अदालतको २०७९ जेठ २४ गतेको फैसलाले सन्तोष उपर ५ दिन कैद सजाय, २ लाख ५९ हजार रूपैयाँ जरिवाना र १० हजार ३ सय ६० रूपैयाँ क्षतिपूर्ती सजाय ठहर भएको थियो ।

अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुर लगनखेलमा फैसला कार्यान्वयनको लागि उपस्थित गराईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.