बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 05 | 07:17 pm 2624

काठमाडौं, असोज १९ः बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका २१ खोकना घर भई हाल वडा नम्बर १९ इखालखु बस्ने ३४ वर्षीय अमर महर्जन रहेका छन् ।

रिता महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अमर महर्जन भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६ माघ १३ गतेको फैसलाले सात दिन कैद र ३२ लाख रुपैंया जरिवाना हुने ठहर भएको थियो ।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका अभियुक्तलाई आज सोमबार कुलेश्वर, काठमाडौंबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनको लागि सोमबार नै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला रिता महर्जनलाई झुक्यानमा पारि मिति २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिएका थिए ।

उक्त कार्य बैंकिङ सूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनले अभियुक्तको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.