के बेलायतका भन्दा नेपालका बालबालिका खुशी छन् होला ? झट्ट सुन्दा यो प्रश्न नै बेतुकको लाग्छ । तर समृद्ध बेलायतको तुलनामा नेपाली बालबालिका नै खुशी रहेको दाबी एक मन्त्रीले गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संसारको रेकर्डअनुसार बेलायतको बालबालिकाभन्दा नेपालको बालबालिका धेरै खुशी भएको पाइएको बताएका हुन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको–१२ कलाँती भूमिडाँडालाई ‘बालमैत्री स्थानीय शासन घोषणा’ कार्यक्रममा मन्तव्य दिँदै मन्त्री पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताए । पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उनले भने, ‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।’ बालबालिकाप्रति देखाएको असलभाव नै आफ्नो, बच्चा, समाज र सिंगो देशको भविष्य भएको उनको भनाइ छ ।
मन्त्री पण्डितले जनप्रतिनिधिहरुलाई आफ्नो सुखसुविधामा भन्दा पनि जनताको सुखसुविधामा ध्यान दिएर काम गर्न आग्रह गर्दै अझ जनताको शिर ठाडो हुने गरी काम गर्न लाग्नुपर्ने बताए ।
सो अवसरमा प्रदेश नं ३ का सांसद वसुन्धरा हुमागार्इं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा कार्यलाई निरन्तरता दिनका लागि आफ्नो तर्फबाट सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाए ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ लाई बालमन्त्री स्थानीय शासन घोषणा गरेको कार्य प्रदेश नं ३ को दोस्रो र काभ्रेपलाञ्चोक जिल्लाको पहिलो हो ।
सो क्रममा मन्त्री पण्डितले सो वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएकामा प्रशंसा गर्दै नगरपालिकाले प्रदान गरिएको नगद पाँच लाखसहित प्रशंसापत्र वडाध्यक्ष एवं बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष ईश्वरराज जंगमलाई प्रदान गरेका थिए ।