काठमाडौं, असोज ३ : आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा बालिका एसिडको सिकार बन्न पुगेकी छन् । चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दासले प्रेम स्वीकार नगर्दा एसिडको सिकार बन्न पुगेकी हुन् ।
उनलाई आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटक पटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थिइन् । यस्तो हरकतबारे सम्झनाले अभिभावकबीच कुरा राख्न नपाउँदै भदौ २६ गते राति एसिड आक्रमणबाट गम्भीर घाइते बनिन् ।
एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार राजधानीस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ ।
छिमेकीको नाताले उनीमाथि कसैले शंका गरेनन् । अपराध लुकाउन उनी कुरुवासमेत बसे । प्रहरीले सम्झनाको कल डिटेल्स निकालेर अनुसन्धान थाल्यो । ‘एक महिनामा झन्डै २ सय कल पासवानले फोन गरेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख केदार ढकालले भने, ‘कल डिटेल्स, पीडितका बुवाको किटान जाहेरी र सम्झनाको बयानका आधारमा पासवानलाई पक्राउ गरेका हौं ।’ पासवानको हातमा एसिड परेर कालो भएको छ । प्रहरीले त्यसलाई पनि प्रमाणको आधार मान्यो ।
घटनाको ६ दिनपछि पक्राउ परेका पासवानलाई मंगलबार इलाका प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो । उनीमाथि पीडितले किटान जाहेरी दिइसकेका छन् ।