बुधबारको जोरबिजोरले यात्रुको बिचल्ली

| 2018 Aug 29 | 05:59 pm 2315

काठमाडौं, भदौ १३: बुधबार देखि सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भन्दै उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

गृहमन्त्रालयले आजदेखि तीन दिनसम्म जोर बिजोर प्रणाली लागू गरेको छ । बिहिबार र शुक्रबार शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेपनि बुधबार बाटै जोरबिजोर प्रणाली लागू गरेका कारण सर्वसाधारण यात्रुले कष्ट भोग्नुपरेको छ ।

बुधबार र शुक्रबार बिजोर र बिहिबार जोर नम्बरका सवारी सधान चल्न पाउने व्यवस्था गरेका कारण आज बुधबार कलंकी, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप, बबरमहल, नयाँबानेश्वर, कोटेश्वर, गौशाला, चावहिल लगाएत दर्जनौ ठाउँमा यात्रुहरु अलपत्र परेका थिए।

रत्नपार्कबाट चावहिल जानका लागि सवारी साधन आधा घण्टा देखि कुरेर बसेका दिपक तामाङले यस्तो सास्ति दिनु भन्दा आजै देखि शिक्षण संस्था बन्द गरेको भए ठिक हुने धारणा राखेका छन् ।

त्यस्तै भृकुटीमण्डपबाट सुइचाटार जान बस कुरेर बसेकी एक महिला पनि उत्तेजित देखिन्थिन् । सडकमा सवारी साधनको कमि देखिए पनि यात्रुको चाँप भने अत्यधिक रहेको छ ।

यो समाचार तयार गर्दासम्म यात्रुको चाँपलाई हेर्दा आज सर्वसाधारण समयमा गन्तव्यमा पुग्ननसक्ने निश्चित् प्राय छ । सरकारले सुरक्षालाई दृष्टिगत गरी सडकमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षाको प्रत्याभूति दिए पनि यात्रुले कष्ट व्यहोर्न बाध्य भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.