बैतडी, १० असोज : मानव बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाइफकाइ भारतको बैङ्गलोर पुर्याई बेचबिखन गर्न खोजेको आरोप लागेको छ । यसअघि मङ्गलबार प्रहरीले सोही घटनामा संलग्न डडेलधुरा आलिताल गाउँपालिका–८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिसकेको छ ।
पक्राउ परेकी महिलालाई बेच्न लगिएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप छ । यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी कार्य गरेको थियो ।
मानव बेचबिखनको आरोप लागेका डडेलधुरा आलिताल–८ का ५० वर्षीय शङ्कर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै यहाँ ल्याएका थिए ।