बिपन्नका लागि एक हजार चार सय विद्युत मिटर निशुल्क वितरण

रिपोर्ट नेपाल | 2019 Jul 21 | 12:31 pm 1935

  • तिलाचन पाण्डे

गुल्मी, साउन ५: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जिल्लाका बिपन्न परिवारका लागि निशुल्क रुपमा विद्युत मिटर बितरण गरेको छ ।

१२ वटा स्थानीय तहका बिपन्न परिवारहरु विद्युत मिटर लिन नसकेर बत्तीमुनीको अध्यारोमा बस्न नपरोस भनेर निशुल्क रुपमा मिटर उपलब्ध गराएको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए । अर्यालका अनुसार जिल्लामा करिब एक हजार चार सय मिटर बितरण गरेको र एक हजार चार सय घर धुरीहरुको घरमा उज्यालो भएको बताए ।

घर नजिकबाटै विद्युतको पोल तार गएपनि बिपन्न भएकै कारण घरवरपर विद्युत बल्दा पनि उनीहरुको घर अध्यारै थियो उनीहरुलाई पनि घरमा उज्यालो बनाउने रहर रहँदा रहदै पनि बिपन्नका कारण घर उज्यालो बन्न नसकेको समयमा उनीहरुको घरमा उज्यालो भएको र मुहारमा खुसीयाली छाएको केन्द्र प्रमुख अर्यालको दाबी छ ।

जिल्लाको सदरमुकाम तमघासमै एउटा मिटर लिन आउनका लागि उनीहरुलाई समस्या हुन्छ र आर्थिक भार पनि धेरै हुने भन्दै जिल्ला प्रशासन कार्यलय गुल्मीले राखेको घुम्ती सेवाको अवसरमा जिल्लाका अति विकट र दुर्गम मालिका र मदानेमा गई घुम्ती सेवा मार्फत मिटर बितरण गरेको अर्यालले जानकारी दिए ।

एउटा मिटर लिँदा नेपाल विद्युत प्राधिकरण बितरण केन्द्रबाट करिव दुई हजार तीन सयसम्म लाग्ने भन्दै यसरी नेपाल सरकारको बिपन्नलाई निशुल्क रुपमा बितरण गर्ने मिटरबाट बिपन्न परिवारमा राहतको महशुस भएको केन्द्रका सुचना अधिकारी मेखराज जोशीले जानकारी दिए । यसरी मिटर प्राप्त गर्नका लागि स्थानीय तह वा सम्बन्धित वडाको सिफारिसलाई आधार मानेर मिटर बितरण गरिएको जोशीले बताए ।

त्यस्तै मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले यसरी गाउँघरमै आएर बिपन्नहरुलाई मिटर उपलब्ध गराएकोमा धन्यबाद दिदै गाउँबाट सदरमुकाम तमघास मिटर लिन जाँदा सबै खर्च गर्दा करिब १० हजार रुपैयाँ लाग्ने गरेकामा आर्थिक हिसाबले पनि जनतामा राहत मिलेको दाबी गरे । भण्डारीका अनुसार एउटा मिटर लिन जानका लागि गाउँबाट करिब दुई दिनको समय लगाउनु पर्दथ्यो त्यो समय, होटलमा बस्नुपर्ने खर्च र आर्थिक बचत नभएको र बिपन्नको घरमा उज्यालो भएकोमा गाउँपालिका खुसी भएको बताए ।

मदाने गाउँपालिका भनभनेका ४३ बर्षिय फर्स बहादुर घर्तीले गाउँमै आएर निशुल्क रुपमा मिटर लिन पाउँदा खुसीको सीमा नै नरहको भन्दै बल्ल गरिब र बिपन्नका लागि पनि सिंह दरबारको अधिकार गाउँमा आएको महशुस भएको बताए । उनले एउटा मिटर लिन सदरमुकाम तमघास धाउनु पर्दा समय र आर्थिक हिसाबले पनि खर्चिलो हुने हुदाँ हामी जस्ता ब्याक्तिलाई यसरी घरमै आएर मिटर दिएकोमा प्राधिकरण प्रति धन्यबाद दिदै स्थानीय तहलाई समन्वय गरिदिएकोमा धन्यबाद भन्दै आगामी दिनमा पनि गरिब र बिपन्नको स्थानीय सरकार बन्न सुझाब दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.