बिदा भए राष्ट्रियसभाका १८ सांसद

रिपोर्ट नेपाल | 2020 Mar 03 | 03:39 pm 2039

काठमाडौं, फागुन २०: राष्ट्रिय सभाका १८ सांसदको कार्यकाल मंगलबार सकिँएका छन् ।

उनीहरु सोमबारबाट राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई बिदा गरेका हुन्।

दुईवर्षे कार्यकाल पूरा गरी मंगलबार बसेको राष्ट्रिय सभाको बैठकपछि बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद रहेका छन् ।

साथै, अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाको कार्यकाल पनि आजैदेखि सकिएको छ। खतिवडालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

दुईवर्षे कार्यकालबाट बिदा हुनेहरुमा नेकपा सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुन्।

त्यसैगरी कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि बिदा हुने भएका छन्। अन्यमा सचेतक सरिता प्रसाई, बिन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा पनि बिदा भएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालका वृजेशचन्द्र लाल र रमेशप्रसाद यादव छन्। समाजवादीका रामप्रीत पासवान बिदा भएका छन्।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट तय गरिएको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस १३ सिटसहित थियो तर गोलाप्रथामा कांग्रेसका ७ सांसदको भागमा दुईवर्षे कार्यकाल परेको थियो।

१८ सांसदको दुई वर्षे कार्यकाल सकिनुअघि नै माघ ९ गते सातै प्रदेशमा चुनाव भइसकेको छ। यो चुनावमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका छन्। उनीहरुले मंगलबार नै सपथ लिँदैछन्।

अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाको स्थानमा कसैको नाम सिफारिस भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.