बालुवाटारबाट कृष्ण पहाडीसहित २५ जना मानव अधिकारकर्मी पक्राउ

| 2018 Dec 10 | 02:26 pm 2183

काठमाडौं, मंसिर २४ :  प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट प्रहरीले २५ जना मानव अधिकारकर्मीहरूलाई पक्राउ गरेको छ । ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास अघि विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरीले २५ अधिकारकर्मीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल लगायतलार्इ गिरफ्तार गरेको छ ।

त्यस्तै गिरफ्तार हुनेमा नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जी.सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायण कुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जना रहेका छन् । उनीहरुलार्इ अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

२०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पश्चात् हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता ठहर गर्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनमा पीडितलाई न्याय पिडकलाई सजाय, महिलाहरू माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, इन्ड इम्पुनिटीलगायतका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.