बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव

रिपोर्ट नेपाल | 2019 Jul 06 | 07:18 am 2788

काठमाडाैं, असार २१:  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १ सय ३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ ।

योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ ।

जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ ।

दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ । बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ । उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ । क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ ।

बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ । ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ । यहाँ एक सातामा पानी वितरण हुन्छ ।

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्दै
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र दैनिक सात सय ट्यांकरले पाँच करोड लिटर पानी वितरण गर्छन् । सुक्खा मौसममा यो माग १० करोड लिटर पुग्छ । तर, ट्यांकरको पानी खरिद गर्दा पनि उपभोक्तालाई पर्याप्त हुँदैन ।
उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानिन्छ र ट्यांकरमा भरेर उपभोक्ताकहाँ लगिन्छ ।

जारको पानीको खपत पनि बढ्यो 
केयुकेएलले मागबमोजिमको पानी नधान्ने भएपछि जारको पानीको माग  बढ्दो दरमा छ । बोटल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ हजारदेखि ५० हजार गोटासम्म खपत हुने गर्छ । सुक्खा याममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने गर्छ । त्यस्तै, एकदेखि डेढ लिटर अटाउने बोतलको पानी सामान्य अवस्थामा दैनिक २० देखि २५ हजार केस (एक केसमा १२ वटा बोतल हुन्छ) खपत हुन्छ । सुक्खा याममा भने ४० हजार केससम्म खपत हुन्छ । जाडोको तुलनामा गर्मीमा पानीको माग ४० प्रतिशत बढ्ने गरेको संघको दाबी छ । यो आधारमा हिसाब गर्दा साना र ठूला जारबाट मात्रै सुक्खा याममा दैनिक १६ लाख ८० हजार लिटर पानी वितरण हुने गर्छ ।

दैनिक तीन करोड ३१ लाखको पानी खपत 
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरको पानी प्रतिलिटर ४० पैसाको दरले बिक्री हुन्छ । सुक्खा याममा दैनिक ५ करोड लिटर पानी आपूर्ति हुने भएकाले यस याममा ट्यांकरको पानी मात्रै दैनिक दुई करोड रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, २० लिटर अटाउने जारको पानी दैनिक ७० हजारवटा खपत हुन्छ । एउटा जारको मूल्य ५० रुपैयाँ पर्छ । यो आधारमा २० लिटर जाने जारको पानी मात्रै दैनिक ३५ लाख रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, एक लिटर पानी अटाउने सानो बोटल दैनिक ४ लाख ८० हजार वटा बिक्री हुन्छ । एउटा बोतलको मूल्य २० रुपैयाँ पर्छ । यस आधारमा सानो बोटलको पानी मात्रै दैनिक ९६ लाखको बिक्री हुन्छ । यसरी समग्रमा सुक्खायाममा उपत्यकामा दैनिक तीन करोड ३१ लाख रुपैयाँको पानी माग हुन्छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.