ललितपुर, कात्तिक ४ः बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा प्रहरीद्वारा सकुशल उद्वार गरेको छ ।
बारा सिम्रौनगढ नगरपालिका १ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ४ मनकामना चोक स्थित बस्ने गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साह कोठा भन्दा बाहिर खेलीरहेको समयमा साईकल चढी आएका अपरिचित ब्यक्तिहरुले साईकलमा राखी लगेको खबर प्राप्त भएको थियो ।
मौखिकरुपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुना साथ तत्कालै प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलिले प्रबिधि समेतको प्रयोग गरी खोजतलास गर्दै जाँदा हिजो सोमबार ललितपुर महानगरपालिका २९ हरिसिद्दी स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको हो ।
पीडित बालिकालाई तत्कालै उद्वार गरी अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा संलग्न सर्लाही हरिवन नगरपालिका ८ बासटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्दी बस्ने ३० वर्षीय (मुख्य अभियुक्त) राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका ८ बुझाकोट घर भई हाल ललितपुर २९ हरिसिद्दी बस्ने २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाउँपालिका २ घर भई हाल ललितपुर २९ हरिसिद्दी बस्ने ४० वर्षीय कृष्ण तोलामीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत सातदोबाटोबाट थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएको छ ।