काठमाडौं, भदाै ३०: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताएका छन्। काठमाडौं उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिए।
बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आइतबार राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री पोखरेलले बालश्रम निवारणका लागि सरकारले गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत बताए।
काठमाडौं उपत्यकाबाट शुरु गरिएको सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्य उपत्यकाबाहिर पनि विस्तार हुँदै गएको छ, नेपाल सरकार सबै बालबालिकाका लागि शिक्षा र स्वास्थ्य सुविधा पाउने कानूनी व्यवस्थालाई प्रत्याभूति दिलाउन प्रतिबद्ध छ, उपप्रमन्त्री पोखरेलले भने।
नेपालमा बालबालिकाको स्थिति दिनानुदिन सुधारोन्मुख हुँदै गए पनि सबै बालबालिकाको अधिकार सुनिश्चित गर्न अझै केही काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपप्रम पोखरेलले निःशुल्क शिक्षा भए पनि कतिपय परिवारका बालबालिका विद्यालय भर्ना हुन नसकेको र गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेकामा चिन्ता प्रकट गरे।
बालविवाहबाट अझै धेरै प्रभावित रहेको शोषण, हिंसा दुर्व्यवहारको समस्या अन्त्य गर्न अझै व्यवहारमा बाँकी रहेको उल्लेख गर्दै उपप्रम पोखरेलले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि सरकारले महत्वपूर्ण कार्यक्रम ल्याउन लागेको जानकारी दिए। उनले बालबालिका विरुद्ध हुने सबै प्रकारका शोषण र दुर्व्यवहार विरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताए।