बालतप्सवी रामबहादुर बमजनमाथि किशोरी बलात्‍कारको आरोप

रिपोर्ट नेपाल | 2018 Sep 16 | 07:49 am 1603

काठमाडौं, भदौ ३१: बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका बालतपस्वी रामबहादुर बमजनमाथि बलात्कारको आरोप लागेको छ।

महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बमजनले पटकपटक बलात्कार गरेको बताएकी हुन्। बमजनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन्।

धर्मगुरु बमजनको गुम्बामा उनी आनी बन्न गएकी थिइन्। पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले दुई वर्षपहिले आफूलाई बमजनले पटकपटक बलात्कार गरेको बताइन्। बलात्कार भएलगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बमजनकी श्रीमतीले धम्क्याएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको उनले बताइन्।

पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको उनले बताइन्। ‘ममाथि पटकपटक गुरुले बलात्कार गर्नु भयो, यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’, उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो र मैले उजुरी हाल्न सकिनँ।’

बलात्कार भए पछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन्। आफूले न्याय नपाउने ठहर गर्दै आत्महत्याको प्रयास समेत गरेको भन्दै उनले पछि अरुले नै आत्महत्याबाट बचाएको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.