एजेन्सी- स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको यात्रा कायम राखेको छ। आइतबार राति भएको खेलमा बार्साले लेगानेसलाई ३–१ ले हरायो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे।
जितसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ। कोपा डेल रे अन्तर्गत हुन लागेको सेभियाविरुद्धका खेलका लागि भनेर प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले लियोनल मेस्सीलाई आराम दिएका थिए।
ओश्मान डेम्बेलेको पहिलो हाफको अग्रतालाई मार्टिन ब्रेइथवेटले बराबरी गोल गरेका थिए। खेलको एक घण्टापछि बेञ्चमा रहेका मेस्सी मैदान प्रवेश गरे। मैदान आउनेबित्तिकै मेस्सीले डिबक्सको बाहिरबाट उत्कृष्ट प्रहार गरे पनि गोल हुन सकेन।
७१औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्ज्युरी समयमा मेस्सीले पनि गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो।
बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ।