बाराको अन्तराष्ट्रिय विमानस्थल वातावरणीय प्रभावमा त्रुटिपूर्ण

रिपोर्ट नेपाल | 2019 Sep 06 | 09:29 am 1826

काठमाडौं, भदाै २०: बाराको कोल्हवीमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलसम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन गर्नुपर्ने एक अध्ययन प्रतिवेदन देखाएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्वारा तयार पारिएको सो प्रतिवेदन बिहीबार संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरी सार्वजनिक गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न नेफेजले पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा सो प्रतिवेदनबारे विस्तृत छलफल भएको थियो ।

उक्त प्रतिवेदनका अनुसार सरकारसँग निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) छैन । ७ खर्बको अनुमानित लागतको आयोजना डीपीआर बिनै अघि बढ्न नसक्ने भएकाले पहिले यसको विस्तृत परियोजना अध्ययन गरिनुपर्नेछ ।

साढे २४ लाख रूख काट्नुपर्ने रूख काट्ने नियतबाट प्रेरित भएर सरकारले हतारमा वातावरण मूल्यांकन प्रतिवेदन पारित गरिएको, त्रुटिपूर्ण ईआईए पारित गर्ने प्रक्रियाअनुरूप नभएको, वन मासेर स्मार्ट र एयरपोर्ट सिटी बनाउने कुरा तर्कसंगत नभएकोको स्मार्ट सिटीका नाममा प्राकृतिक स्रोतको विनाश स्वीकार्य नहुने प्रतिवेदनमा उल्लेख छ ।

योसँगै टागिया बस्ती व्यवस्थापन, त्यहाँका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने कुरा, दुर्लभ वन्यजन्तु हात्ती, बाघलगायत जैविकमार्ग संरक्षण, अन्य चराचुरुङ्गी र वन्यजन्तुलाई पर्ने सक्ने प्रभाव न्यून गर्ने कुरा, पानीको मुहान संरक्षण, चुरेमा पर्न सक्ने प्रभाव र त्यसको असर बाढीबाट पर्नसक्ने जोखिम न्यूनीकरण आदि विषयलाई परियोजनाका रूपमा अघि बढाइनु पूर्व गम्भीरतापूर्वक लिइनुपर्ने प्रतिवेदनले जनाएको छ ।

बारामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) विमानस्थल निर्माणका सबै पक्ष समेटेर तयार नपारिएको दाबी विज्ञले गरेका छन् । सो ईआईए वास्तवमा विमानस्थलको इआईए नै नभएको उनीहरूको तर्क छ ।

‘मानिसलाई धेरै भ्रम छ । नेपाल सरकारलाई पनि मिसकन्सेप्सन छ । विज्ञ पनि भ्रममा छन् । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय विमानस्थल पहिलो भएकाले अन्तर्राष्ट्रिय विमानस्थल सेकेन्डरी अन्तर्राष्ट्रिय विमानस्थल भन्नु स्वाभाविक हो,’ पूर्ववरिष्ठ क्याप्टेन प्रचण्ड जंग शाहले भने, ‘तर, अन्तर्राष्ट्रिय विमानस्थलको आफ्नै महत्व भएकाले यो प्राइमरी विमानस्थल नै हो ।’ उनले बाराको विमानस्थल वैकल्पिक विमानस्थल नभई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल भएकाले त्यसलाई सुझबुझका साथ काम गर्नुपर्ने सुझाव दिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.