काठमाडौं (भदौ २३) । महानारीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले अन्तरआत्माको विकास नगरेसम्म समाजको विकास र अपराध नियन्त्रण नहुने भएकाले प्रहरीको आचरण सुधार आफ्नो पहिलो काम भएको बताएका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायिक सेवा समिति वडा नं. १०, ३१, ३२ र सामुदायिक प्रहरीको संयुक्त आयोजनामा संचालित नागरिक सुनुवाई कार्यक्रममा बोल्दै एसएसपी लामाले उक्त कुरा बताएका हुन् ।
प्रहरी मात्रै सुध्रिने हो भने समाजमा रहेका आधा विकृति र विसंगति अन्त्य हुने उल्लेख गर्दै एसएसपी लामाले नागरिकसँग कतै प्रहरी कर्मचारीले संगठनको हितविपरीत कार्य गरेको पाएमा ९८५१२०५५५५ मा फोन गर्न समेत आग्रह गरे। नागरिक प्रहरीको आँखा भएकोले समाजमा रहेको कसिंगरलाई बढार्न आँखाले निर्देशन गर्ने कुरामा आफू आशावादी रहेको पनि उनले बताए ।

भदौ १ गते देखि लागु भएको संहिताले केहि अप्ठ्यारो भए पनि प्रहरीले झिनामसिना समस्यासँग जुध्दै नागरिकको जिउधनको सुरक्षा गर्दै सभ्य समाज निर्माणका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने समेत एसएसपी लामाले प्रण गरेका थिए ।
नागरिकबाट गुण्डागर्दीका विषयमा सोधिएको प्रश्नमा एसएसपी लामाले आफ्नो शब्दकोषमा गुण्डागर्दी शब्द नभएको जवाफ दिए। नागरिकबाट बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्लेको मुक्त कण्ठले प्रशंसा भएको सुनेपछि एसएसपी लामाले अझ सकृय र प्रभावकारी काम गर्न निर्देशन दिए ।
एसएसपी लामाले आफू जुन जिल्लामा गएको छु त्यो जिल्लामा शान्ति चाहने जनताको स्वागत र भब्य विदाई भएको स्मरण गर्दै अपराधि र अपराध कर्म गर्नेको आँखाको कसिंगर भएको स्मरण गरे ।

कार्यक्रममा प्रदेश सभाका सांसद गणेश प्रसाद दुलालले “हाम्रो बानेश्वर राम्रो बानेश्वर” बनाउन सबै जग्गा धनीले आफ्नो दुई चार इन्च जग्गाको माया गर्न नहुने बताए । सांसद दुलालले ट्राफीक व्यवस्थापन चाहने तर अदालत धाउने प्रथाको अन्त्य हुनुपर्ने बताउदै सम्मनीत अदालतले पनि यस्ता मुद्दा ल्याउनेलाई निरुत्साहित पार्नु पर्ने कुरामा जोड दिएका थिए ।
अर्का सांसद दिपेन्द्र श्रेष्ठले २१औं शताब्दीको प्रहरी मसलले होइन मस्तिष्कले चल्छ भन्ने उदाहरण गोविन्द काफ्लेको नेतृत्वमा रहेको बानेश्वर प्रहरीले दिएको बताए । टोल–टोलमा प्रहरी कार्यक्रम मार्फत बानेश्वर प्रहरीले लोकतान्त्रिक अभ्यास गरेको बताउदै सांसद श्रेष्ठले अपराधिक कृयाकलाप न्यूनीकरण गर्नका लागि सामुदायिक प्रहरी प्रभावकारी भएको बताएका थिए ।
प्रदेश सभाका सांंसद राजेन्द्र गुरुङ्गले समाज सुधार चाहाने हामीले पहिलो काम घरको सुधार गरेर गर्नुपर्ने बताए । उनले आफ्नो घरको फोहोर अर्काको घरको अगाडी लगेर फाल्ने प्रवृत्ती समाप्त नभएसम्म समाज सुध्रिन नसक्ने बताएका थिए । समाजसेवी डा बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं। १० का वडाअध्यक्ष राम कुमार केसीले समाज सुधार र विकास गर्ने कार्यमा दलगत स्वार्थ भन्दा माथि उठेर गर्नुपर्ने बताए ।

वडाअध्यक्ष केसीले सुरक्षालाई दृष्टिगत गरी प्रर्याप्त मात्रामा सिसि क्यामरा जडान गरीने बताएका थिए । शंखमुलदेखि पुरानो बानेश्वरसम्म छिटै फूटपाथ मुक्त बनाइने पनि कसीको भनाई रहेको थियो । महानगरीय ट्राफीक प्रहरी कोठेश्वर प्रभागका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले धुँवा र धुलोका बावजुद प्रर्याप्त जनशक्तिको अभावमा ट्रमफीक व्यवस्थापन गरिएको बताएका थिए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका कृष्ण चापागाई सामुदायिक प्रहरी कोटेश्वरकी अध्यक्ष मनसुरी मल्ल ठकुरी लगाएतका वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल प्रहरीको प्रधानकार्यालयको कार्यक्रम अनुसार टोल–टोलमा प्रहरी लागु गरेपछि नयाँ बानेश्वर वृत्तले प्रशंसनीय काम गर्दै आएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्दराज काफ्लेको नागरिकसँग घुलमेल गर्न सक्ने क्षमताका कारण विकृति र विसंगति न्यूनीकरण भएको अधिवक्ता गणेश केसीले बताए ।