काठमाडौं,साउन २३: महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले शुरु गरेको टोल टोलमा प्रहरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनताको घर दैलोमा पुगेर जनताको गुनासो सन्ने कार्यक्रम अन्तर्गत बुधबार देखि होस्टेल व्यवसाय गरेका व्यवसायीको गुणस्तर र त्यहाँको गतिविधिबारे अनुगमन शुरु भएको छ ।
वृतको अगुवाईमा वडाका जनप्रतिनिधि, होस्टेल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवाका प्रतिनिधि, टोल सुधार समितिका प्रतिनिधि लगाएत सामुदायि प्रहरीको संयुक्त समुहले अनुगमन शुरु गरेको हो ।
वृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज बुधबारबाट संचालित अनुगमन वडा नं. १०,३१ र ३२ का सबै वडामा हुनेछ ।

टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत नागरिकको घर दैलोमा जाँदा स्थानीय जनताले होस्टेलमा बस्ने विद्यार्थी र संचालकका विषयमा तिब्र आवाज उठाए पछि प्रहरीले अनुगमन थालेको हो ।
होस्टेल व्यवसायिले जिम्मेवारी बहन नगरेको, मापदण्ड अनुसार संचालन नगर्नुका साथै हो हल्ला गर्ने गरेको जन गुनासोको आधारमा प्रहरीले सबै क्षेत्रका प्रतिनिधिको रोहवरमा अनुगमन थालेको हो ।
बुधबार वडा नं. १० को बुद्धनगरबाट शुरु भएको अभियान अन्तर्गत अन्य विकृती र विसंगतीका कुरा पनि सुक्ष्म ढंगले प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।
होस्टेल संचालक गैह्र जिम्मेवारी भइदिएका कारण त्यहाँ बस्ने विद्यार्थी विभिन्न विकृती र विसंगतीको कुलतमा फस्नुको साथै गाँजा विक्रि, सेवन गर्ने गरेको समेत प्रहरी कहाँ गुनासो पुगेको थियो ।
सामाजिक विकृती र विसंगतीलाई जरैबाट समाप्त पार्न प्रहरीको यस्तो कार्यक्रम प्रशंसनीय भएको स्थानीयबासीको भनाइ रहेको छ । डिएसपी काफ्लेले नागरिकले उठाएको आवाजलाई संबोधन गर्न प्रहरी चौबिसै घण्टा तयार रहेको बताएका छन् ।