बादलको अबको ‘टार्गेट’ निर्माण क्षेत्रको विकृतिविरुद्ध

रिपोर्ट नेपाल | 2018 May 31 | 04:21 am 1542

यातायात क्षेत्रको सिण्डिकेट तोडेर प्रशंसा कमाएका गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले ठेक्कापट्टा तथा निर्माण व्यवसायमा हुँदै आएको अनियमितताको जालो च्यात्ने कार्यलाई आफ्नो अर्को अभियान बनाउन थालेको संकेत दिएका छन् । प्रचारभन्दा काम गरेर देखाउने कुरामा आफूलाई बढ्ता विश्वास रहेको अभिव्यक्ति दिने बादल कम बोल्ने र निर्णय लिइसकेपछि पछि नहटी लक्ष्यमा पुग्न खोज्ने पात्रका रुपमा चिनिन्छन् ।

जनतामा यस्तो जोदाहा छवी निर्माण गरेका गृहमन्त्री बादलले विकास निर्माणको सवालमा कोही प्रतिपक्ष हुन नहुने अभिव्यक्ति दिएका छन् । देशका सबै राजनीतिक दल समृद्धिका लागि मूल प्रवाहमा आउनुपर्ने उनको धारणा छ ।

पार्टी एकतापछि विघठित प्रेस चौतारी र प्रेस सेन्टर चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य दिँदै उनले विकास निर्माण क्षेत्रमा हुने ढिलासुस्ति नियन्त्रण गरिने अठोट सुनाए ।कुनै पनि निर्माणको काममा ढिलाइ हुनुको कारण पहिचान गरी आवश्यक कारबाही गरिने र कानून उल्लंघन गर्नेलाई कानूनी कठघरामा ल्याउन कुनै मोलाहिजा नगरिने उल्लेख गरे ।

खासगरी नरायणगढ–मुग्लिन सडकको पाँचौँ पटक थपिएको मिति पनि सकिएको विषयमा गृहमन्त्री बादल गम्भीर बनेका छन् । यसबारे मिहीन छानबिन गरेर आवश्यक कारबाही गरिने उनले बताए । देश विकास र समृद्धितर्फ लागिसकेकाले देशलाई बिखण्डन गर्न चाहने कुनै पनि शक्तिलाई कानूनी रूपमा कारबाही गरिने पनि उनले सोही अवसरमा दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.